स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकाे निष्कर्ष, अख्तियारलाई थप कारबाही गर्न सिफारिश
काठमाडौं । सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।लेखा समितिले गरेको अध्ययनमा भने खरिद प्रक्रिया नियमसंगत नभएको पाइएको छ ।
स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल ओम्नी समूहसँग सम्झौता गरेको थियो ।
मन्त्रालयबाट कागजपत्र मगाएर गरेको अध्ययनमा कानुनी अधिकार नै नभएका विज्ञ सल्लाहकार डा. खेम कार्कीको नेतृत्वको वार्ता टोली बनाएर डिल गरेको र त्यसलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अनुमोदन गरेपछि मात्र स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग सम्झौता गरेको पाइएको छ । समितिका सचिव रोजनाथ पाण्डेले खरिद प्रक्रिया नियमसंगत नभएकाले यसमा जो संलग्न छन त्यो पहिचान गरेर कानुनी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने निर्देशन भएको बताएका छन ।