सुरक्षाका उपायहरू अवलम्बन गर्दै बिजयादशमी मनाउन राष्ट्रपतिकाे आग्रह

khabarwave
१० कार्तिक २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैं मनाउन आग्रह गरेकी हुन् ।

‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ ।

विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वासका साथ राष्ट्रपति भण्डारीले उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गरेकी छन् । यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सदभाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपतिको छ ।

विजयादशमीका दिन भगवतीले सत्य हासिल गरेका उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ ।

असत्यमाथि सत्य तथा अन्यायमाथि न्याय र अमानवीय तत्वमाथि मानवताको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी विशेष अर्चना र आराधना गरिन्छ ।

 

Loading spinner