
सिँचाइ विभागको सीडीई विरुद्ध विशेषमा मुद्दा,कार्यालय सहयोगी घुससहित पक्राउ
काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग, ललितपुरका सिनियर डिभिजनल इन्जिनियर सीडीई सुरेशकुमार शर्माविरुद्ध मुद्दा दायर गरेको जनाएकाे छ ।निजामती सेवामा प्रवेश गरेदेखि हालसम्मको अवधिमा शर्माले ५ करोड ४१ लाख ८६ हजार ६०६ आर्जन गरेकोमा ३ करोड ६ लाख ५४ हजार ९३२ रुपैयाँको स्रोत नखुलेले सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
सीडीई शर्माले पदमा रहेर भ्रष्टाचार तथा अनियमितता गरी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।२०५२ सालदेखि ०५३ सम्म अस्थायी र ०५३ देखि हालसम्म स्थायीरुपमा निजामती सेवामा प्रवेश गरेका शर्मा हाल सिँचाइ विभागको सीडीईका रुपमा कार्यरत छन् ।
यसैबीच जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१३ नं वडा कार्यालयका सहयोगी दिलिप कुमार पंजियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटि गएको टोलीले निज दिलिप कुमार पंजियारलाई सेवाग्राहीबाट २४ हजार लिइसकेको अवस्थामा उक्त रकमसहित वडा कार्यालय अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।उक्त कुरा प्रवक्ता तारानाथ अधिकारीबाट बिज्ञप्तीमा जनाइएकाे छ ।