सामाजिक सुरक्षा भत्ता राेकियाे, दाेषी काे ?

khabarwave
२२ कार्तिक २०७७

काठमाण्डाै ।   नेपाल सरकारले जेष्ठ नागरिक, अशक्त लगायतलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता रकम भक्तपुरका अरु नगरपालिकाले दशैं अघि नै वितरण गरे पनि मध्यपुर थिमि नगरपालिकाले भने हालसम्म पनि वितरण गर्न सकेको छैन । दशैं छुटिृको अन्तिम दिन कार्तिक ६ गते पत्रकार सम्मेलन गरी नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृत उद्धबप्रसाद रिजाललाई मन्त्रालय फिर्ता गरेको घोषणा गरे पनि यो तानावाना निकै अगाडिदेखि नै बुनिदै आएको थियो । कार्तिक २ गते बसेको नगर कार्यपालिकाको बैठकका एजेण्डामा सहमति जुट्न नसके पछि काँग्रेसको संस्थापन पक्षसँग हुदै आएको सहकार्य अचानक तोडेर नगरप्रमुख मदन सुन्दर श्रेष्ठले अर्को पक्षसँग मिलेर बैठक सम्पन्न गरेका थिए । कोरियन अस्पताललाई एक करोड अनुदान रकम पठाउन मेयरले सोभन्दा १५ दिन अघि देखि नै दवाव दिएको कुरा पत्रकार सम्मेलनमा आफैं स्वीकारेका छन् । उक्त तनावले गर्दा लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृतले सहज ढंगबाट काम गर्ने पाएका थिएनन । यस माथि मेयर आफैंले नै केही वडाहरुलाई विवरण रोकेर राख्न निर्देशन दिए पछि विना विवरण निकासा मागको कार्यवाही नै हुन सकेन । विगतमा भएको वेवारिस कामको निकासा गराउन रातदिन तानावाना बुन्ने मेयरले सामाजिक सुरक्षाको रकम निकासा माग गर्न आवश्यक पर्ने विवरण नै रोकेर षडयन्त्र गरेको कुरा लेखा शाखा र कार्यकारीलाई पत्रकार सम्मेलनको एजेण्डामा एक्कासी यो विषय समावेश भए पछि मात्र ज्ञात भएकाे थियाे ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग जिज्ञासा राख्दा “ केही वडाहरुले हालसम्म पनि लगत अद्यावधिक गरी विवरण नगरपालिकामा नपठाएकाले निकासा माग गर्न नसकिएको” बताउनु भयो । अब कहिले वितरण हुन्छ त ? भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत रिजालले प्रष्ट जवाफ दिन सक्नु भएन । अप्ठ्याराहरु के हुन् भनेर थप खोतल्दा उहाँले ”नगरप्रमुले आफूलाई पत्रकार सम्मेलन मार्फत फिर्ता गरेको, कुनै चिठी नदिएको तथा मन्त्रालयमा समेत कुनै जानकारी नपठाएको अवस्थाले आफू अन्यौलमा परेको” बताउनु भयो । ”मेयरज्यूले प्रशासन महाशाखालाई पटक पटक गाडी खोस्न भन्नु भा छ अरे । मैले उहाँको व्यक्तिगत नभई नगरपालिकाले उपलब्ध गराएको गाडि चढेको हुँ । यदि नगर कार्यपालिकाले निर्णय गरेर मलाई गाडि फिर्ता गर भन्छ भने मलाई आपति छैन । अन्यथा कार्यालय जाने वतावरण नै नहुँदा म कसरी काम गर्न सक्छु र ? अनि मैंले काम नै नगरोस भनेर नक्सा सम्वन्धि इविपिएसको युजर नेम र पासवर्ड हटाउन लगाउने, योजना अभिलेख प्रणाली नचलाउन निर्देशन दिने र गाडी पनि खोस्छु भने पछि म कसरी नगरपालिका र जनताको काममा समर्पित हुनु ? आफैं भन्नुस त ? ”

समस्याको समाधान कसरी हुन्छ त ? भन्ने हाम्रो थप जिज्ञासामा रिजालले भन्नु भयो ः मेयरज्यू नयाँ हाकिम ल्याउने भनेर दिनै पिच्छे मन्त्रालयमा धाइ नै रहनु भएको छ । तर मन्त्रालय विगत ४ जना प्रमुख प्रशासकीय अधिकृतहरुलाई अपमानजनकढंगले फिर्ता पठाएकाले यस पटक तत्काल उहाँले रोजेको कर्मचारीलाई खटाउने पक्षमा छैन भन्ने सुनेको छु । उहाँले अर्को कार्यकारी तत्काल ल्याउन पनि नसक्ने अनि मलाई पनि काम गर्ने वातावरण नवनाउने हो भने समस्या अझै गहिरिदै जाने निश्चित छ ।

नगरपालिकाका प्रवक्ता एवं वडा नंं २ का वडाध्यक्ष राम थापासँग यस विषयमा बुझ्न खोज्दा मेयरज्यू आफैंले यो समस्या खडा गरेको, जनतालाई गुमराहमा राखेर आफ्नो राजनीति सोझ्याउन खोजेको बताउनु हुन्छ । वडाध्यक्ष थापाका अनुसार कोरोनाको प्रभाव बढ्दै गए पछि खास गरी ३ र ५ नं. वडाले आफ्नो लगत समयमा अद्यावधिक गर्न नसकेकाले नगरपालिकाले एकीकृत विवरण दशैं अगाडि तयार गर्न सकेन । दशैं पछि विवरण त तयार हुन्छ, तर मेयरज्यूले एकलौटी निर्णय गरें भनेर प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकामा काम गर्न दिनु भएको छैन । लेखा शाखा, योजना शाखाका कर्मचारीलाई पनि दिनै पिच्छे आफ्नो कार्यकक्षमा बोलाई आफूले फिर्ता गरेका हाकिमसँग काम नगराउनु भनेर ठुलै स्वरले सम्झाउने र आवेग देखाउने गर्नु भएको छ । जुन काम वहाँको पदले गर्न त के कल्पना गर्न पनि मिल्दैन ।

Loading spinner