सरकारलाई गाली गरेर रोग नलाग्ने भए पो

khabarwave
३ भाद्र २०७७

० कोभिड–१९ को पहिलो बिरामी देखिएको करिब दुई महिनापछि एक्कासि ह्वात्तै बिरामी बढेको देखिएको छ, के अब नेपालमा यो भाइरस तीव्र गतिमा फैलिने संकेत हो ?

– दुवै हुनसक्ने स्थिति छ । संक्रमण फैलिँदै जान पनि सक्छ, हामीले नियन्त्रणका उपायहरु कडाइका साथा पालना गर्न सक्यौं भने अझै पनि नियन्त्रणमा रहन सक्छ । नियन्त्रणका उपायहरु कार्यान्वयनमा ढीलासुस्ती गरियो, बिरामी कहाँ हुन सक्छन्भनेर खोज्न र परीक्षणमा ढिलाइ गरियो, लकडाउन पनि खुकुलो गर्दै लगियो भने केही दिनमै आगोको फिलिङ्गोले जंगल डढेलो लगाएजस्तो हुनसक्छ । हामी ढुक्क हुने स्थिति छँदैछैन । तर हाल धेरै बिरामी भएका छैनन्, बिरामी भएका पनि गम्भीर भएका छैनन्, त्यसकारण हामीले उच्च सतर्ककासाथ काम गर्नुपर्ने स्थिति हो, यो ।

० महामारी नियन्त्रणका लागि मुलुकले अपनाइरहेको नीति कत्तिको प्रभावकारी देख्नुभएको छ ?

यसमा यो नै सत्य हो, यो नै ठीक हो भन्ने हुँदैन । हरेक कुराको आप्mनो ठाउँमा उत्तिकै महत्व हुन्छ । जनता आफैँ, सुशुचित हुने, आफैँ सतर्क हुने, सामाजिक दूरी कायम गर्ने, हात धुनेलगायतका स्वास्थ्य र सरसफाइका नियमहरु पालना गर्ने गरेमा यसै पनि यो रोग नियन्त्रणमा रहन्छ । अहिले आम मानिसहरु बाहिर जान रुची देखाउने र घरभित्र चाहिँ गैरजिम्मेवार किसिमको व्यवहार गर्दै, झुण्डमा बसेको, खाएको, खेलेको, जिस्किएको देखिएको छ । यो वर्तमान महामारीको परिस्थितिमा गलत हो ।कसैलाई रोग भएको रहेछ भने भित्रभित्रै रोग संक्रमण भएर उग्ररुप लिनसक्छ ।

सरकारी तवरबाट रोग नियन्त्रणका लागि चाल्नुपर्ने कदम, परीक्षण र उपचारका लागि व्यवस्था आदिमा शुरुमा केही ढिलाइ भएको थियो तर पछिल्लो समयमा सरकारी तयारीले गति लिएको देखिएको छ ।

० महामारीको संक्रमण पछिको लकडाउनले मुलुकको समग्र क्षेत्र प्रभावित भएको देखिएको छ, यसको स्वरुप परिवर्तन गर्न आवश्यक छ कि ?

लकडाउनले नेपाल मात्र होइन संसारलाई नै खत्तम पारेको छ । यसको मोडलको बारेमा जनस्वास्थ्य विज्ञहरुको धारणा आउला नै । मेरो अनुभव र व्यक्तिगत विचारमा सामाजिक दुरी कायम गर्ने सुनिश्चितताका साथ अहिलेको लकडाउनलाई रिफम्र्याटिङ गर्नुपर्छ कि भन्ने लागेको छ । यसको मतलव लकडाउन खोलौँ भन्ने होइन । यो विषयमा थप बहसको आवश्यकता छ । यसमा थप बैकल्पिक उपाय दिन सकिने हो भने यसलाई परिमार्जन गर्न सकिएला भन्न मात्र खोजिएको हो ।

मेरो विचारमा चाहिँ भौगालिक हिसाबले छुट्ट्याएर लकडाउन गर्ने र त्यहीँभित्र परीक्षणका कार्यहरु गर्ने, विभिन्न भौगोलिक क्षेत्रमा स्थिति हेरेर सामाजिक दुरी कायम गर्ने सर्तमा मानिसको गतिविधि केही खुकुलो गर्ने, परीक्षण कार्य पनि घरघरमा गएर गर्न सकिन्छ कि भन्ने बारेमा छलफल र तयारी गर्ने, महामारीका बिरामीलाई निश्चित अस्पतालमा उपचारको व्यवस्था गरी अन्य अस्पतालमा अरु बिरामीको उपचार शुरु गर्ने, साथै अस्पताल र क्वारेन्टाइनहरुको स्तर र क्षमता बृद्धि गर्नेजस्ता कार्यहरु पनि गर्न सकिन्छ । क्वारेन्टाइनहरुमा सरसफाइ र सामाजिक दुरी कायम गर्ने कार्य प्रभावकारी नभएमा त्यहीँ नै रोग संक्रमण हुनसक्छ । छिमेकी देशका औपचारिक नाका बन्द भए पनि अन्य ठाउँबाट लुकीछिपी आइरहेको भन्ने सुनिएको छ, यसलाई कडाइ गर्नुपर्छ ।

० मानिसहरु कठिनाइका साथ सात आठ दिनसम्म हिँडेर घरतिर गइरहेको दृश्यले धेरैलाई भावुक बनाएको छ, यसको व्यवस्थापन कसरी गर्नुपथ्र्यो भन्ने लाग्छ ?

यस्तो स्थितिको व्यवस्थापन भन्न जति सजिलो छ, गर्न त्यति नै गाह्रो छ । भन्नेहरुले लकडाउन अघि नै यस्ता मानिसहरुलाई बाहिर पठाउनु पथ्र्यो भनिरहेका छन् । तर कति मानिसहरु बाहिर जान्छन् भन्ने कुरा कसरी थाहा पाउने रु यो कठिन छ । तीन लाखभन्दा बढी मानिसहरु त्यहीबेला बाहिर गएका थिए । निर्णय गर्नेहरुले आवश्यक पर्नेहरु गइसके होला भन्ने पनि सोचे होलान् ।

गर्न के सकिन्थ्यो भने अहिले गरेको जस्तै जो जहाँ छन् त्यहीँ स्थानीय वडाहरुमार्फत् नगई नहुने मानिसहरु कति छन् तिनीहरुलाई कन्ट्रोलका साथ पठाउन सकिन्थ्यो कि सकिदैनथ्यो, त्यस बारेमा होमवर्क गर्न पाएको भए हुन्थ्यो । पहिले नै सोचविचार गर्न पाएको भए आप्mनै दाजुभाइ दिदीबहिनीले यति दुःख पाउँदैन थिए होला । तर कतिपय कुराको सीमा नै हुन्न ।

हिजो अस्ति जान नपरेकोलाई आज जान आवश्यक परिरहेको होला । अहिले पनि कतिलाई बाहिर जान आवश्यक छ त्यो सही आंकलन गर्न सक्ने स्थिति छैन । उनीहरुलाई पठाउँदा त्यसको परिणाम के हुनसक्छ र उनीहरुलाई यहीँ राख्दा के गरिदिनुपर्छ भनेर गृहकार्य गर्न आवश्यक छ ।

० अन्य बिरामीका लागि अस्पताल बन्द गर्दा स्थिति के भइरहेको होला ? उनीहरुलाई सम्बोधन गर्ने बेला भएन र ?

– बेला नहुने मात्र होइन, ढीला नै भइसकेको छ । हामीले एक हप्ता अघि नैमन्त्रालयलाई सुझाव दिइसकेका छौँ र निर्देशिका बनाउने क्रममा छ । स्वास्थ्य मन्त्रालयलगायत यस क्षेत्रका जिम्मेवार सबैको भावना अरुलाई पनि सेवा सुचारु गरौं भन्ने नै छ । तर लकडाउनको कारणले बिरामी आउन नसक्ने स्थिति, लकडाउनको कारण कतिपय स्वास्थ्यकर्मीलाई अस्पताल आउन नपर्ने गरिएकोले स्वास्थ्यकर्मी पनि कम, कतिपय अस्पतालमा कोभिडको संक्रमण होला भन्ने त्रास र सोही कारण बिरामी पनि अस्पताल आउन नचाहिरहेको स्थिति पनि छ ।

त्यसकारण यो परिस्थितिमा तत्कालै क्यान्सर भएका बिरामी, डायलसिस गर्नुपर्ने बिरामी, मुटुका बिरामी, प्रसूतिसम्बन्धी बिरामी, दमका बिरामीलाई बेरोकटोक उपचारका लागि आउन दिनुपर्छ भन्ने कुरा मैले पनि राखेको छु, मन्त्रालयले पनि यस बारेमा केही निर्णय छिट्टै नै लिने जस्तो बुझेको छु, सायद व्यवस्था हुन्छ होला । यस्ता बिरामीलाई पहिलेदेखि नै उपचारको व्यवस्था गर्नुपर्छ भनेर नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले पनि धारणा बनाइ छलफल गरेको हो तर लकडाउनको कारणले पनि व्यवहारिक भइरहेको छैन । अन्य सम्बद्ध मन्त्रालयको समन्वयमा एम्बुलेन्सलगायतको यातायातको व्यवस्था गरिकन सेवा उपलब्ध गराउनुपर्छ भन्ने कुरा भएको छ ।

० विकसित मुलुकहरुमा धेरै संक्रमण भइरहेको छ, मृत्यु संख्या पनि उच्च छ । विदेशमा रहेका नेपालीहरु नै एक हजार जति संक्रमण भइसकेको र २८ जनाको मृत्यु भएको तथ्य बाहिर आएको छ । यसको तुलनामा नेपाल बढी सुरक्षित हुनुको के कारण होला ?

– भाइरोलोजी पढ्नेहरु, जनस्वास्थ्य विज्ञहरु, हामीहरु, विकसित वा अविकसित मुलुक सबैका लागि यो नयाँ विषय भएको छ । तर मेरो विचारमा जहाँ रोकथामका उपायहरु कडासँग अपनाइएन, त्यहाँ यो रोग महामारीका रुपमा फैलिएको छ । भाइरोलोजीले हामीलाई सिकाएको छ कि यसलाई हेलचेक्र्याइँ गर्नुहुन्न, यो आगोको फिलिङ्गो जस्तो हो भनेर । जहाँ अन्य रोग बढी छ त्यहाँ यसको प्रभाव धेरै हुन्छ भन्ने पनि भनिँदै आएको थियो । यही कुरा उहान र अन्य केही मुलुकमा सावित भएको छ ।

हामी कहाँ नियन्त्रित स्थितिमा रहनुमा प्रमुख कुरा नियन्त्रणका उपाय बेलैमा अपनाउनु हो । नेपालमा रोग नफैलिँदै, विदेशबाट पनि रोग लागेकाहरु नआउँदै लकडाउन शुरु भयो, सीमा नाका र अन्तर्राष्ट्रिय उडानहरु पनि बेलैमा बन्द गरियो । साथै समुदायमा रोग नफैलिँदै जनचेतना, सरसफाइलगायतका पब्लिक हेल्थ इन्टरभेन्सन बेलैमा गरियो । नेपालमा रोग धेरै नफैलिनुको श्रेय यसैलाई दिनुपर्छ ।

० हाम्रो स्वास्थ्य पूर्वाधारले यो रोग नियन्त्रणका लागि कुन हदसम्म धान्न सक्ला भन्ने लाग्छ ?

हामीकहाँ चिकित्सकहरु, बेडहरु, आईसीयू बेडहरु पर्याप्त छन् तर यो रोगलाई बेरोकतोक फैलिन दिइयो भने यो पूर्वाधारको केही चल्दैन । होइन कडाइका साथ नियन्त्रणमा हामी सबै लाग्ने हो भने अलिअलि भएका बिरामीको उपचार गर्ने क्षमता हामीसँग हुन्छ । रोगलाई धेरै फैलिन नदिई यस्तै रुपमा अलिअलि फैलिई रहेमा हामी कम क्षतिमै तैरिने सम्भावना छ । उपचार कसरी गर्ने भन्दा पनि यो रोग आउनै नदिन, फैलिनै नदिन के गर्ने भन्ने बारेमा सबैले सोच्नुपर्ने आवश्यकता छ । यो रोग नियन्त्रणका लागि सरकारलाई गालि गरेर मात्र हुँदैन, आमजनताको सहयोग आवश्यक छ । सरकारले बाहिर कडा गर्छ, परिवारमै रोग सारिदियो भने सरकारले के गर्ने ?

० महामारीलाई दीर्घकालिन नियन्त्रणका लागि के गर्न सकिन्छ ?

– अहिलेको समय भनेको पब्लिक हेल्थका मापदण्ड, निर्देशनको पालना गरी तयारी गर्नुपर्छ, विज्ञानले दिएका सुझावहरुलाई अंगिकार गर्नुपर्छ । आम समुदायले व्यक्तिगत सरसफाइमा ध्यान दिने, अस्पतालमा अरु बिरामीको उपचार गर्दा पनि रोग संक्रमणको कुरातर्फ ध्यान दिने संस्कृति बसाउनुपर्छ । हामीलाई यो महामारीले सिकाएका पाटोहरु हुन् । यसले भविष्यमा मानिसको स्वास्थ्य राम्रो राख्न र उपचार गर्न सहयोग पुग्ला ।

० आफ्नाे मुटुरोग क्षेत्रका बिरामीलाई के भन्नुहुन्छ ?

– उपचारका लागि आवश्यक परे मुटु रोगका बिरामी अस्पताल आए हुन्छ, डराउनु पर्ने स्थिति छैन । कोभिडकै कारण नेपालका अस्पतालहरु भद्रगोल भइसकेका छैनन्, त्यसैले उपचार आवश्यक पर्दा आए हुन्छ । केही उपाय लागेन भने हामीलाई फोन गरे पनि हुन्छ ।

Loading spinner