सरकारमा जान किन मरिहत्ते
देश र जनताको हित गर्नु सरकारको प्रमुख दायित्व हो। त्यसैले जनताले आफूले तिरेको कर ख्वाएर आफैले चुनेका प्रतिनिधिलाई सरकारमा पठाउने गर्छन्। देशले बनाएको योजना, पार्टीको घोषणा, राष्ट्रले लिएका नीति, जन चाहना र आवश्यकता समेतलाई देशमा भएको साधन र श्रोतलाई प्रयोग गरेर देशको विकास गर्ने जिम्मा त्यस देशको सरकारको हुन्छ र त जनताले आफ्नो गास कटाएर सरकारलाई पालेका हुन्छन्। यस अर्थमा सरकार जनताको सेवक हो।
तर हाम्रो देशको सन्दर्भमा हाम्रो सरकारका विशेषता यस्तै छन् त? अबश्य पनि छैनन्। सरकार जनताको सेवक नभएर मालिक जस्तो भएको छ। यसले केवल जनतालाई कजाउने काम गरेको छ। जनता र देशको हितमा केही काम हुन सकेका छैनन् सरकारको तर्फबाट। देशमा जे जस्ता दैनन्दिनका काम भै रहेका छन् यसको लागि विद्यमान कर्मचारीतन्त्र नै पर्याप्त छ। हामीले तिरेको राजस्व र विदेशबाट आएको सहयोग हामीले राजनीतिक तवरले बनाएको सरकार र पार्टीका कार्यकर्ताहरूलाई पाल्न मै खर्च भएको छ। हाम्रा नेताहरूले राजनीतिलाई ब्यबसाय बनाएका छन्। हाम्रा संघीय सरकारमा बस्नेले मात्र हैन वडा स्तरमा राजनीति गर्छु भन्नेलाई पनि गोरूलाई झै घॅंस्याउन परेको छ। एक किसिमले भन्ने हो भने यिनीहरूलाई हामीले खेतमा काम गर्ने हली, खेतालालाई जस्तै ज्याला दिनु पर्छ।
एक प्रकारले भन्ने हो भने यिनीहरूलाई हामीले रोजगारी दिएका छौ। यसैले हाम्रो देशमा राजनीति पेशा वा ब्यबसाय जस्तै भएको छ। पंचायती काललाई नागरिक अधिकार र बैयक्तित स्वतन्त्रताको हिसाबले प्रजातान्त्रिक भन्न नसकिएला तर त्यति बेलाका स्थानीय तहका जनप्रतिनिधीहरूले स्वयं सेवा गर्थे राजनीतिमा। त्यति बेला राजनीतिले पेशाको रूप लिएको थिएन। तर संघीय गणतन्त्रमा जन प्रतिनिधिहरू महंगा भएका छन्। यसमा राजनीति गर्न कुनै शैक्षिक योग्यता चाहिदैन। शिक्षालाई बुज्रूवा भन्नेहरू नै शासन सत्तामा रहेका छन्।
विद्यालयमा बम पड्काउनेहरू, शिक्षकलाई रूखमा बांधेर गोली हान्नेहरू, प्राथमिक तह देखि नै विद्यार्थीलाई राजनीति गर्न सिकाउनेहरू, कक्षा कोठा बाट विद्यार्थी अपहरण गर्नेहरूलाई किन शैक्षिक योग्यताको जरूरत पर्यो र! स्कूल कलेजमा हड्ताल र ढुंगामुढा गरेर राजनीतिक योग्यता बनाएर पदमा बसेकाहरूले राजनीति बाहेक अरू काम गर्ने ढंग भए पो अरू पेशा गर्दथे। त्यसैले यिनीहरूले राजनीति बाहेक अरू केही गर्ने ल्याकत राख्दैनन्। फेरि राजनीतिलाई जीवनको अन्त्य सम्म लैजान जुनसुकै र जस्तो सुकै खेल खेलेर पनि सरकारमा जानु उनीहरूको वाध्यता हो। सरकारमा गए पछि ठेक्का पट्टा, रोजगारी, ठगी, तस्करी आदि सेतो धन्दा हुन जान्छन् र पुस्तौ पुस्तालाई कमाउन सकिने हुदा हरेक प्रयाश गरेर पनि सत्ता टिकाउने काम गरिन्छ।
झन् यति खेर त जनताले प्रतिपक्षमा समेत बस्ने हैसियत नदिएकाहरू शासन सत्तामा रजगज गरी रहेका छन्। ठूला पार्टीहरूलाई पालै पालो प्रयोग गरेर राजनीतिलाई कमाऊ धन्दा बनाएका छन्। जनताले तिरेको राजस्वमा दाईं हालेर ब्यक्तिगत स्वार्थ पूरा गरेका छन्। देश विकासको नाममा आएको विदेशी सहयोग समेत नक्कली बील बनाएर हजम बनाउन पाए पछि सरकारमा जान मरीहत्ते गर्ने नै भए नि! खास भन्ने हो राजनीति एउटा त्याग हो, सेवा हो, विकासको माध्यम हो, गरीवी हटाउने औजार हो तर यसको नेत्तृत्त्व सकारात्मक सोच राख्ने नेताले लिनु पर्ने हुन्छ। हामी नेपालीको दुर्भाग्य नै भन्नु पर्छ हामी संग त्यस्तो दूर दृष्टी राख्ने नेत्तृत्त्व भएन। हामी संग संगै विकास शुरू गरेका देशहरू कहां पुगी सके तर हामी हरेक वर्ष पछाडि धकेलिदै छौ। यसको कारण एउटै छ त्यो हो हाम्रो देशमा राजनीति गरी टोपल्नेहरूले राजनीतिलाई व्यवसाय बनाए, जनताहरूलाई झुक्याए।
अहिले नेपालमा भएको गठवन्धनको सरकारले त आफ्नो बहुमत पुर्याउन जसले जुन मन्त्रालय माग्छ त्यही दिएर कोरम पुर्याउने काम गरेको पाईन्छ। अर्थको अ पनि नजान्नेले अर्थ मन्त्रालय पाएको छ, अदालतबाट कसूरदार भएकाले गृह पाएको छ, म्यान पावर खोलेर बसेकाले श्रम मन्त्रालय पाएको छ, नेपालको संस्कार र संस्कृतिको विरोध गर्नेले संस्कृति मन्त्रालय पाएको छ। यी त उदाहरण मात्र हुन्, पदहरूलाई चकलेट बाडे जस्तो गरेर गठवन्धन जोगाउने, सरकार टिकाउने काम गरेर जनताको मतलाई उपहास गरेको छ, वर्तमान सरकारले। त्यसैले राजनीतिक दलहरू जिम्मेवार भएर राजनीतिक क्षेत्रमा देखिएका यी र यस्ता विकृतिहरूलाई हटाएर राजनीतिलाई पेशा हैन सेवा बनाउनु पर्ने देखिन्छ।