समयअनुसार कडा कदम चाल्ने प्रधानमन्त्री ओलीको तयारी

khabarwave
२ मंसिर २०७७

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद भूसको आगोझैं फैलिएका कारण जहिले सुकै दुर्घटना हुनसक्ने आँकलन राजनीतिक वृत्तमा हुन थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायत पाँचजना सचिवालय सदस्यहरु कुनै हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानी अन्त्य गर्ने र आवश्यक परे सरकार ढाल्ने योजनामा छन् । यसका लागि उनीहरुले योजनाबद्ध तरिकाले मोर्चाबन्दी गरी सक्रियता बढाउँदै लगेका छन् ।

प्रधानमन्त्री ओली कुनै हालतमा पदबाट राजीनामा दिने पक्षमा छैनन् । बरु उनी कठोर कदम चालेर अगाडि बढ्ने तयारीमा छन् । किनकि राष्ट्रपति विद्यादेवी भण्डारी समेत ओलीको कदमलाई साथ दिन तयार रहेका कारण ओली कुनै पनि कठोर कदम चालन तयार हुने आँकलन गरिएको छ । ओली निकट नेताहरुले पछिल्लो पटक सार्वजनिक गरेको विषयबाट यही संकेत मिल्छ ।
नेकपाभित्र अहिले चलेको शक्तिसंघर्षमा सत्ता केन्द्रबिन्दुमा रहेपछि ओली, प्रचण्ड र माधव नेपाल निकट नेताहरुले सामाजिक सञ्जालमा शब्दको युद्ध गरिरहेका छन् । यसबाट पनि नेकपा दुर्घटनाको नजिक रहेको देखिदैछ ।

नेकपाभित्र विकसित घटनाक्रमले प्रधानमन्त्री केपी शर्मा ओली सामु पदबाट राजीनामा दिने या पार्टी फुटाउनेबाहेक तेस्रो विकल्प कमजोर बनेको छ । उनले आफ्ना विरोधीलाई फुटाउने, थकाउने, कमजोर बनाउने देखि सबै रणनीतिक प्रयास गरेपनि सफल भइरहेको छैन । ओलीविरुद्ध प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका बहुमत सचिवालय सदस्य एकमत भएका छन् । उनीहरु कुनै हालतमा ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने तर्फ बढेका छन् ।

पार्टी बैठक डाकेर ओलीविरुद्ध कडा निर्णय लिने तयारी प्रचण्ड र माधव नेपाल समूहको छ । यो बुझेर ओलीले कहिले प्रचण्ड त कहिले माधव नेपाल त कहिले वामदेव गौतमसँग भेटेर वा विश्वासपात्र खटाएर राजनीतिक लेनदेनको प्रस्ताव पठाए । तर, यसपटक प्रचण्ड र नेपाल टसमस भएनन् । बरु ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको कदम चाल्ने तयारीमा लागे । अब ओलीलाई कारबाही गर्ने या राजीनामा गर्न वाध्य पार्ने प्रचण्डसहितको नेताहरुको तयारी छ । तर, ओलीले जुनसुकै परिस्थितिको सामना गरेर भएपनि राजीनामा नदिने अडान राखेका छन् । नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा ओली र प्रचण्ड दुवै नेता एक अर्कालाई कारबाहीसम्म गर्ने तयारीमा छन् । प्रचण्ड र माधव नेपालसहितका बहुमत सचिवालय सदस्यले ओलीलाई सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी गरेको जानकारी पाएपछि ओलीले निकटस्थलाई चुनौतीको सामना गर्न तयार हुन भनेका छन् ।
सत्ताबाट दुईपटक हटाउने विरोधीको प्रयासलाई प्रधानमन्त्री केपी ओलीले विफल पारिसकेका छन् ।

यसमा उनको राजनीतिक अस्त्र फाल्न माहिर शैली पनि कारण हो । नेकपा एमालेको राजनीतिबाट आफूलाई चतुर नेताको रुपमा उभ्याएका छन् । त्यो शैली अहिले झन् बढी देखिएको छ । नेकपा विभाजन हुँदा उनले वामदेव गौतमलाई पेलेरै जाने रणनीति बनाएका थिए । त्यसमा उनी सफल भएनन् मात्र पार्टीभित्र दोस्रो शक्तिशाली नेताका रुपमा देखिए । पछि ओलीले उनै वामदेवको साथ लिएर नेकपा एमालेको अध्यक्ष बन्ने सफलता हासिल गरे । तर, वामदेव ओली निकटस्थहरुको अन्र्तघातको शिकार भएर बर्दियाबाट चुनाव हारे । जसले उनको प्रधानमन्त्री बन्ने या सरकारमा मन्त्री बन्ने सपना चकनाचुर पारिदियो । वामदेवलाई ओलीले विभिन्न आश्वासन दिएर टाढा हुन दिएनन् । नेकपाभित्र ओलीविरुद्ध सत्ता संकट आउँदा वामदेवलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव सारे । उनलाई उपप्रधानमन्त्री बनाउने आश्वासन दिए । यसरी वामदेवका कारण ओलीविरुद्धको दुईपटकको सत्ता संकट टरेको थियो । ओलीले सचिवालयको बहुमत सदस्यबाट भएको घेराबन्दीलाई दुवैपटक तोडिदिए । पहिलोपटक उनले पार्टी विभाजनसम्मको धम्की दिए । त्यसका लागि संसदको अधिवेशन अन्त गर्न लगाएर राजनीतिक दलसम्बन्धी अध्यादेश समेत ल्याए । यसले नेकपाभित्र उनका विरोधीलाई पार्टी विभाजनको खतरा टार्न पछि हट्न वाध्य पारेको थियो ।

Loading spinner