संसदीय दलको नेता चुनिएलगत्तै आचार्य निलम्बनमा , मुख्यमन्त्री र दाहाल-नेपाल समूहकाे चर्कियाे बितण्डा

khabarwave
१६ पुष २०७७

काठमाण्डाै ।प्रतिनिधिसभा विघटनसँगै सुरु भएको नेकपाभित्रको विवादपछि प्रदेश १ मा एक समूहले अर्कोलाई कारबाही गर्ने क्रम चुलिएको छ ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन  राईलाई नेकपा दाहाल-नेपाल समूहले बिहीबार संसदीय दलबाटै हटाइदिएको छ ।  यसअघि राईले आफूमाथि कारबाही गर्ने समूहका सांसदलाई लिखित स्पष्टीकरण सोधेका थिए । तर, बिहीबार उनलाई नै संसदीय दलको नेताबाट हटाइयो । त्यसको जवाफमा दाहाल-नेपाल समूहका १५ सांसदलाई मुख्यमन्त्री तथा संसदीय दलका नेता राईले निलम्बन गरिदिएका हुन् ।आफूविरुद्ध हस्ताक्षर अभियान चलाएपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेसँगै नेकपामा सुरु भएको कलह चुलिएको छ ।

दाहाल-नेपाल समूहले बिहीबार राईको ठाउँमा नेकपाका सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरेको थियो । आचार्यलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा अघि सारिएको छ । निलम्बनमा पर्नेमा प्रदेश सांसद् दाहाल-नेपाल समूहले संसदीय दलको नेता चयन गरेका भीमप्रसाद आचार्य, निवर्तमान सामाजिक विकासमन्त्री जीवन घिमिरे, निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो, निवर्तमान उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास, दलका उपनेता टंक आङबुहाङ, सांसद लछुमन तिवारी, मोहनकुमार खड्का, कुलप्रसाद साम्बा, धीरेन्द्र शर्मा, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लीलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोदा अधिकारी र कुसुमकुमारी श्रेष्ठ छन् ।

 

Loading spinner