शीतल निबासकाे सन्देश- राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्छ

khabarwave
३ चैत्र २०७७

काठमाडौं । राष्ट्रपति  विद्यादेवी भण्डारीले आह्वान गर्नुभए बमोजिम प्रमुख  राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्व प्रधानमन्त्रीहरूसँगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयहरूमा विचार आचार—प्रदान भएको छ । राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजना भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा  प्रधानमन्त्री  केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री  शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टीका अध्यक्षहरू  महन्थ ठाकुर र  उपेन्द्र यादव तथा नेता राजेन्द्र महतो उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी कार्यक्रममा नेकपा (एमाले)का तर्फबाट  रामबहादुर थापा,  ईश्वर पोखरेल,  सुवासचन्द्र नेम्वाङ,  विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका तर्फबाट  रामचन्द्र पौडेल,  विमलेन्द्र निधि, डा. शशांक कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट  नारायणकाजी श्रेष्ठ र  देवप्रसाद गुरुङको उपस्थिति रहेको थियो ।मन्त्रिपरिषदका पूर्व अध्यक्ष  खिलराज रेग्मी कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष  चित्रबहादुर केसी र नेता  जनकराज शर्मा तथा नेपाल मजदुर किसान पार्टीका नेता  प्रेम सुवालको पनि उपस्थिति रहेको थियो ।राष्ट्रपति कार्यलयका प्रबक्ता रूपनारायण भट्टराइद्वारा जारी बिज्ञप्तिमा शीर्ष नेताहरूलाई कार्यक्रममा स्वागत गर्दै राष्ट्रपतिले हाम्रो मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएकाे उल्लेख गरिएकाे छ  ।

बिज्ञप्तिमा भनिएकाे छ-     “हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ ।”राष्ट्रपतिज्यूले भन्नुभयो ।नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताहरूप्रति राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभयो ।शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तन जस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई सम्माननीय राष्ट्रपतिज्यूले आग्रह गर्नुभयो ।

सो अवसरमा राष्ट्रपतिज्यूले मित्रराष्ट्र बंगलादेशका  राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजना  हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बंगलादेशको राजकीय भ्रमण गर्न लागेको उल्लेख गर्नुभएको थियो ।

Loading spinner