विप्लव नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई पक्राउ

khabarwave
१३ कार्तिक २०७७

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द (विप्लव) नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई पक्राउ गरेको  जनाएको छ ।पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) छन् ।प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् । यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको र उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको हाे ।विप्लव समूहका नेता कार्यकर्ता रहेको सूचनाको आधारमा मिक्लाजुङ क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक सन्तोष खड्काको कमाण्डमा टोली परिचालन गरिएको थियो ।उनीहरु बसेको स्थानबाट नालसहितको भरुवा बन्दुक १ थानलगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

Loading spinner