विजयादशमीमा पूर्वराजा, राष्ट्रपति र प्रधानमन्त्री निवासकाे दैलाे सर्वसाधारणका लागि बन्द

khabarwave
१ कार्तिक २०७७

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराजा ज्ञानेन्द्र शाह,   प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरेकाे शीतलनिवासले जनाएको छ । केही दिन भित्रै औपचारिक रुपमा सूचना जारी गरी यसको जानकारी दिने शीतलनिवासले गरेकाे छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका  सहयोगी फणिराज पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा शाह विजयादशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् । विज्ञप्तिमा भनिएको छ-मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् । कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले यो वर्ष सर्वसाधारणलाई टीका नलगाउने तयारी रहेको  छ।

Loading spinner