वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस, कुलमानबारे कुरै उठेन

khabarwave
२९ भाद्र २०७७

काठमाडौँ । नेकपा उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमको व्यग्र प्रतिक्षा पूरा भएको छ । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताएका छन् । युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली थियो । सोही पदमा उपाध्यक्ष गौतम सिफारिशमा परेका हुन् । नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।
यसैबीच, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेन । बैठकमा यससम्बन्धि प्रस्ताव नै नआएको एक मन्त्रीले बताएका छन् । उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रालयमा लैजाने तयारी गरेको उनको सचिवालयले बताएको थियो । तर मन्त्री पुनले किन घिसिङको प्रस्ताव सिफारिश गर्न किन ढिलाई गरिरहेका छन् भन्ने प्रश्न उठेको छ ।

Loading spinner