लेक लागेका नेताहरू
लेक लाग्नुलाई अंग्रेजीमा Altitude Sickness भनिन्छ। पर्वतारोहण गर्दा जति उकालो चढ्दै गयो उती अक्सिजनको मात्रामा कमी हुने गर्छ र यसरी कमी हुन गएको अक्सिजनको मात्रा संग शरीरलाई वातानुकूलित गराउन सकिएन भने पर्वतारोहीको खुट्टा गल्ने, टाउको दुख्ने, ओठ मुख सुक्ने, चिटचिट पसिना आउने, सास फेर्न गार्हो हुने जस्ता लक्षण देखिन्छन् जसलाई सर्व साधारणले बोल्ने भाषामा लेक लाग्ने भनिन्छ।
आजभोली हाम्रा राजनेता भनाउदाहरूलाई यस्तै रोग लागेको पाईन्छ। सबै नेताहरूको खुवी हेरी सकियो तर कोही पनि हिऊ रेखा सम्म पनि पुग्न सकेको पाईएन। यी नेताहरू सबैको परीक्षण भई सकेको हो ता कि यिनीहरू सबै लेक लागेर गन्तब्यमा नपुगी फिर्ता भएका हुन्। यिनीहरूको जवानी हुदा त यिनीहरू लेक लागेर थलिएका हुन भने अहिले त कुनै पनि नेता सात दशक भन्दा कम छैनन् र पनि पर्वतारोहण गर्न तम्सिएका छन्।
समस्या त के हो भने यिनीहरू आफू हिड्न सक्दैनन् भन्ने यिनीहरू स्वयंलाई थाहा छ तापनि त्यो कमजोरी स्वीकार गर्न सकेको पाईदैन र लाममा पछाडि बसेका अनुयायीहरूले पनि अग्रजहरू कमजोर भएको र शिखर चढ्न नसक्ने कुरा अग्रजलाई भन्न नसकेको मात्र हैन कि आफूमा भएको क्षमता प्रदर्शन गर्न समेत अनकनाएको स्थिति देखिन्छ।
यसरी देशको विकासका शिखरहरू चुम्न खोज्ने नेताको अभाव नेपालमा देखिदै छ।यसकै कारण नेपालमा विदेशी शक्तिले खेलेर नेपालको राजनीतिक, सांस्कृतिक र जनसांख्यिक पहिचान लोप गराउने कोशिसमा छन्। विकासका नाममा नेपालमा पटक पटक राजनीतिक ब्यबस्था परिवर्तन भए तर ती परिवर्तनहरू नेपाल र नेपाली कै चाहना र आवश्यकता अनुसार भएका थिए कि विदेशी शक्तिको चाहना अनुसार? यो प्रश्नको उत्तर खोज्नु पर्ने भएको छ।
हामी हाम्रा नेताले जे भने त्यही मानेर बेला बखतमा भएका राजनीतिक आन्दोलनमा सहभागी पनि भयौ, आन्दोलनमा नेताहरूले भने बमोजिम ब्यबस्था पनि बदलिए, निर्वाचनमा नेतालाई जिताएर सरकारमा पनि पठायौ तर खै हामी र हाम्रो देशको बिकास? के हामीलाई नेताले झुक्याएका हुन्? कि हामीले छानेका नेता नै गलत परे? कि हामी संग नेता हुने योग्यताका ब्यक्ति नै नभएका हुन्? हामीहरू बीच यी र यस्ता प्रश्नले सदैव घोची रहन्छन्। अब त लाग्दै छ कि हामी संग नेता हुन योग्य ब्यक्ति नै रहेनछन्। नेपालीमा एउटा उखान छ नि “ जुन जोगी आए पनि कानै चिरेका” त्यस्तै छ नेपाली नेताको अवस्था। हाम्रा नेताले क्षमता हुदा हुदै काम गर्न नसकेका हैनन्।
मुख्य समस्या त हाम्रा नेतामा कसै संग पनि क्षमता छैन भन्ने कुरा पक्कै हो। नेता हुन व्यक्ति स्वयंमा दूर दर्शीपन लगायतका क्षमता त हुनै पर्छ, त्यसको अतिरिक्त उसलाई त्यस्तै किसिमको राजनीतिक वातावरणमा जन्मने हुर्कने अवस्था समेत हुनु पर्छ। नेपालमा पंचायति कालमा नेता जन्मने र नेता बन्ने वातावरण थियो। कलेजहरू नेताका ब्याड बनेका थिए तर अहिले कलेजहरू न त पठन पाठनका न त राजनीतिका केन्द्र बनेका छन्। राजनीति बुझ्न नपाउदै विद्यालय स्तर मै राजनीतिक दलले सदस्यता भिडाएर समाजमा विग्रह ल्याउने मात्र नभएर राजनीतिलाई भन्दा दललाई लक्षित गरेर राजनीति सिकाउने काम हुन्छ। राजनीति राज्यले नसिकाएर दलले सिकाउने गर्छन्। यस्तो स्कुलिंगबाट हुर्केको यूवाले देशको राजनीति गर्न सक्दैन र राजनीतिलाई सेवा हैन पेशा बनाउन लागी पर्छ।
राजनीति प्रतिस्पर्धाको क्षेत्र नबनेर होडबाजीको क्षेत्र बन्न पुग्छ। संस्कार नभएको र बिचार नभएको भिडबाट चुनिएको ब्यक्तिले कस्तो राजनीति गर्ला? नेपालको राजनीतिमा यस्तैले नेत्तृत्त्व गरेको पाईन्छ। यस्ता नेत्तृत्त्व संग न बिचार हुन्छ न कुनै दूर दृष्टि! त्यसैले देशमा राजनीतिक वातावरण स्वच्छ र सफा बनाएर निरन्तर रूपमा राजनेता जन्माउने वातावरण सृजना गर्न जुनसुकै राजनीतिक दलले पुरानो पुस्तालाई विदाई गरेर नयां पुस्तालाई जिम्मेवारी दिन ढिला गर्नु हुदैन।