
रुरु जलविद्युत परियोजनालाई प्रिमियमसहित आइपीओ निष्कासनको अनुमति
काठमाडौं। नेपाल धितोपत्र बोर्डले रुरु जलविद्युत परियोजनालाई प्रिमियमसहित आइपीओ निष्कासनको अनुमतिसमेत दिएको छ। बोर्डले गत बुधबार अनुमति दिएको हो। साना आयोजनामध्ये आइपीओ प्रिमियममा निष्कासन गर्न लागेको रुरु पहिलो हो। परियोजनाले स्थानीय प्रभावित र सर्वसाधारणका लागि ८ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको ८ लाख १५ हजार ४११ कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
परियोजनाले स्थानीय प्रभावितका लागि चार लाख सात हजार ७०५ कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ। तर आम सर्वसाधारणलाई भने चार लाख सात हजार ७०६ कित्ता सेयर २० रुपैयाँ प्रिमियमसहित प्रति कित्ता १२० रुपैयाँका दरले बिक्री गर्ने धितोपत्र बोर्डले जनाएको छ।एक हजार जना प्रवर्द्धक रहेकाे र वार्षिक कम्तिमा १५ देखि १७ प्रतिशत लाभांश दिन सक्ने परियोजनाले जनाएकाे छ ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई सेयर बिक्री गरेपछि दोस्रो चरणमा मात्रै सर्वसाधारणले लगानी गर्न पाउने छन्।
कम्पनीले म्याग्दीमा ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजना निर्माण गरि २०७१ देखि विद्युत उत्पादन समेत गरिरहेको छ।