
राष्ट्रपतिबाट ७ अध्यादेश जारी ,राष्ट्रिय सभामा जानकारी गराइने
काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने बैठककाे सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाइने छ । यस्तै मन्त्रिपरिषद पुनर्गठनबारे पनि जानकारी गराइने छ ।
अधिवेशन नचलेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु पनि पेस हुने छन् ।
यसबीचमा संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश जारी भएका थिए ।प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदन राष्ट्रियसभाको बैठक आज पहिलो पटक बस्न लागेको हो । बैठक अपराह्न चार बजे बोलाइएको छ ।