
शाह बंशले कुलदेबता मानेकाे मन्दिर जीर्ण बन्दा गणतान्त्रिक सरकार बेखवर
राजु बस्नेत
काभ्रे । काभ्रे जिल्लाकोे पनौती नगरपालिका वडा नं. ६ मा अवस्थित गोरखनाथ मन्दिरको अवस्था जिर्ण बन्न पुगेको छ । यसको महत्व र विशेषताले गर्दा नै परापूर्व कालदेखिनै यस मन्दिरप्रति आस्था राख्नेहरु ठूलो संख्यामा रहेका छन् । मन्दिरको स्थापना कहिले भएको हो भन्ने कुरा लिखित तथ्यांक नेभेटिएका कारण यो मन्दिर धेरै नै पुरानो भएको स्थानीयहरुको भनाई छ । प्रत्येक १२ वर्षमा माघ महिनामा एक महिनाभरि मेला लाग्ने यस मन्दिरमा लाखौं हिन्दू धर्मावलम्बीहरुको सहभागिता रहने गरेको छ ।
मनोकांक्षा पूरा गर्ने विश्वास गरिएको यस मन्दिर ०७२ सालको विनासकारी भूकम्पपछि झनै जीर्ण बन्न पुगेको छ । मन्दिरको भौतिक संरचनामा ठूलो असर पुगेको भए पनि लाखौं धर्मावलम्बीहरुको आस्थाको केन्द्र बनेको उक्त मन्दिरको जीर्णोद्धार हुन नसक्दा स्थानीय मात्रै होइन त्यस मन्दिरको महिमा सुनेका जो कसैको चित्त दुखाईको विषय बन्न पुगेको छ । मन्दिरको संरचना भित्र र बाहिर चिरा चिरा भएको स्पष्ट देखिँदा पनि सरोकारवालाहरुको ध्यान नपुग्नु आश्चर्यको रुपमा हेरेका छन् । संघीयतापति मुलुकमा तीन तहको सरकार बनेका छन् । तर तीनतहमध्ये कुनै तहको पनि ध्यान त्यतातिर पुग्न नसकेकोमा स्थानीय उत्सव बस्नेतले गुनासो गर्दै जतिवटा तहका सरकार बने पनि मन्दिरको जीर्णोद्धारप्रति चासो नराख्नुले लाखौं हिन्दू धर्मावलम्बीहरुको मन दुःख पुगेको बताउँछन् ।
आगामी २०७८ साल माघ महिनामा १२ वर्षे मेला लाग्ने पालो परे पनि उक्त मन्दिरको जीर्णोद्धार अहिलेसम्म हुन नसक्दा स्थानीय चिन्तित छन् । ऐतिहासिक र ठूलो धार्मिक महत्व रहेको मन्दिर शाह बंशले कुल देवताका रुपमा मान्ने गरेका छन । राजपरिवारका कुनै पनि सदस्य त्यहाँ पुग्दा राजपरिवारलाई हानी नोक्सानी पुग्छ भन्ने धार्मिक मान्यताका कारणले आजसम्म यस मन्दिरमा मात्रै होइन पनौतीमा समेत पूर्व राजपरिवारका सदस्यले टेकेका छैनन् । साना योजना र महत्व नै नभएका कार्यक्रमलाई बजेट छुट्याउने तीनै तहका सरकारको ध्यान जीर्ण बनेको ऐतिहासिक धरोहर बचाउने दिशातर्फ पुग्नुपर्नेमा स्थानीय जोड दिन्छन् । राज्यको ध्यान नगए पनि मन्दिर संरक्षण गर्नकै लागि गोरखनाथ मन्दिर संरक्षण संस्था ०७४ सालमा स्थापना भई क्रियाशील छ । उक्त संस्थाले मन्दिर संरक्षण गर्नुको साथै त्यस क्षेत्रको ऐतिहासिकता बचाउन सक्रिय भइरहेको छ ।
(फोटो राजु बस्नेत)