
राजनीतिमा यूवाहरूको स्थान कसरी सुरक्षित बनाउने?
देश निर्माणमा यूवाहरूको खांचो हुन्छ। वर्षेनी थपिने यूवाहरूको समायोजनका लागि निजामती, जंगी, प्रहरी, शिक्षक आदि सबै सेवामा यूवाहरूको प्रवेश र अवकाशको निश्चित उमेर तोकिएको हुन्छ ता कि समस्त ऊर्जाशील उमेर देश विकासमा खर्चिन सकियोस्। तर देशको विकासमा राजनीतिक क्षेत्र अन्य क्षेत्रको तुलनामा ज्यादै महत्वपूर्ण क्षेत्र हुदाहुदै पनि यो क्षेत्रमा यूवाको सहभागिता जुन तवरले हुनु पर्ने हो त्यही तवरबाट हुन सकेको पाईदैन। कतै कतै त यति सम्म देखियो कि अन्यत्र अवकाश भै सकेपछि यो क्षेत्रमा सहज प्रवेश पाईन्छ।
यहा सात दशक कटे पछि राष्ट्र प्रमुख वा सरकार प्रमुख हुने ल्याकत राखिन्छ र उमेरको कुरा उठाउदा यूरोप र अमेरिकाको उदाहरण दिने गरिन्छ जहाको औसत आयु नै ८५ वर्ष भन्दा बढी हुन्छ जव कि नेपालको त्यो भन्दा २०/२५ बर्ष कम। कुरा जे गरे पनि एउटा कुरा सही के हो भने राजनीतिक क्षेत्रमा समेत यूवाहरूको खांचो छ तर पाका नेताहरू असक्त नहुने बेला सम्म सो पदमा टांस्सिई रहन चाहन्छन्। खासगरी यस्तो प्रवृत्ति एशिया र विकासोन्मुख मुलुकमा बढी देखिएको छ। यही कारणले नेपालको राजनीतिमा हाल पुस्तान्तरणको कुरा चर्को रूपमा उठेको पाईन्छ।
यूवाहरू स्वभावैले आधुनिक जमाना संग तादात्म्यता राख्छन्। आधुनिक विज्ञान र प्रविधि संग साक्षात्कार गर्न सक्छन्। यिनीहरू संग निर्णय गर्ने क्षमता मात्र हैन, शीघ्र निर्णय गर्ने क्षमता पनि हुन्छ । यिनीहरूले विश्व परिवेश बुझेका हुन्छन्। यस्ता यूवाहरू देशको राजनीतिमा प्रवेश गर्न सके भने मुलुक र मुलुकवासीको हक हितका लागि काम गर्न सक्छन् भनेर यहा पनि पुस्तान्तरणको कुरा उठेको हो। हालै नेपालका राजनीतिक दलहरूले महाधिवेशन मार्फत राजनीतिक पदाधिकारीको छनौट गरेका छन्।
नेपालको जनसंख्याको वनौट हेर्दा २० वर्ष देखि माथि र ६० वर्ष भन्दा तलको जनसंख्या अधिक छ । देश बनाउने जिम्मा पनि यही समूहको हो र यही समूहको जनशक्तिलाई राजनीतिमा समेत संलग्न गराउन सकेमा राष्ट्रको हितमा काम हुन सक्छ भन्ने मान्यताले नेपालका राजनीतिक दलहरूमा खासगरी नेपाली कांग्रेसले यो पुस्तान्तरणको अबधारणालाई अगाडि सारेको पाईन्छ। अहिले नेकाको महाधिवेशनको नतिजा पनि आई सक्यो तर यसको विस्तृत विवरण नआईपुगे पनि यसका कृयाशील सदस्यको उमेर विवरण हेर्दा २६ वर्ष देखि ६० वर्ष सम्मका सदस्य संख्या करीव ६५% छ र ६० वर्ष देखि माथिकाको संख्या करीव ११% छ। यसरी २६ वर्ष मुनीका समेतको संख्या हेर्दा यो पार्टीमा यूवाहरूको प्रवेश उल्लेख्य रूपमा भएको पाईन्छ। तर पनि नेत्तृत्त्व तहमा भने माथिल्लै उमेरका सीमित संख्याको हाली मुहाली रहेको छ।
यो किन हुदै छ भने पुरानो पुस्ताले पदमा बसी रहन चाहने, युवाहरूले तर्क दिन नसक्ने, युवाहरू नेताको मुख ताकेर बस्ने, यूवाहरूमा निर्णायक क्षमता र अध्ययन गर्ने बानी नहुने, मतदाताका रूपमा रहेका कृयाशील सदस्यको छनौटमा नेत्तृत्त्वको हस्तक्षेपकारी भूमिका हावी हुने र निर्वाचन पारदर्शी र कम खर्चिलो हुन नसक्ने कारणले यूवाहरूको मनोवल कमजोर हुदै गएकोले हुन सक्छ। यो अवस्थालाई सुधार गर्न नसक्ने हो भने हामीले राजनीतिमा यूवाहरूको प्रवेश र यिनीहरूको कृयाशीलतालाई अझै वर्षौ कुर्नु पर्ने हुन सक्छ। त्यसैले यो क्षेत्रमा पनि निश्चित क्राईटेरिया बनाएर त्यसलाई अक्षरस: पालना गर्नु पर्ने हुन्छ। यस्ता केही आधारहरू यहां प्रस्तुत गरिएका छन् जस्ले यूवाहरूलाई राजनीतिमा आउन प्रेरित गरोस् र पाकाहरूलाई अवकाश हुन वाध्य पारोस्।
⁃ एऊटा पदमा दुई पटक भन्दा बढी उमेद्वार हुन नपाउने ब्यबस्था, जुन वर्तमान समयमा पनि अधिकांश राजनीतिक दलके विधानमा विद्यमान छ तर सबै पदमा अनिवार्य गरिएको छैन, त्यसैले सबै पदमा यो लागू गर्ने,
⁃ शीर्ष पदमा रहने हरूले आफ्नो कार्य सम्पादनमा कम्तिमा ४०% सफलता हांसिल गरेको हुनु पर्ने। उदाहरणका लागि गएको आम निर्वाचनमा नेकाले १६५ प्रत्यक्ष सिटमा २३ सिट मात्र प्राप्त गर्न सक्यो, त्यो भनेको नेत्तृत्त्वको असफलता हो, त्यसैले भावि निर्वाचनमा यस्तो अवस्था भएमा निजले उम्मेद्वारी दिन नपाउने ब्यबस्था हुनु पर्ने ।
⁃ काममा पार्दर्शिता वा कुनै जन प्रतिनिधिले आफ्नो नेत्तृत्त्वमा विकास निर्माणका कुनै काम गरेकोमा जनताको सन्तुष्ठी पूरा गर्न नसकेमा उसको भावी राजनीतिमा सहभागी हुन नपाउने ब्यबस्था गर्ने। ⁃ कुनै पनि पदमा उमेद्वारी दिदा उसको उमेर ६० वर्ष नकाटेको हुनु पर्ने।
⁃ प्रदेश तह वा सो भन्दा माथि उम्मेद्वार वा मनोनयन हुनेले कम्तिमा १० वर्ष राजनीतिक क्षेत्रमा काम गरेको हुनु पर्ने। यी र यस्तै आधारहरू बनाएर यूवाहरूको निमित्त राजनीतिक क्षेत्र सुरक्षित पार्न सकेमा भविष्यमा यो क्षेत्रमा यूवाको प्रवेश सहज हुने देखिन्छ।