राजनीतिमा यूवाको प्रवेश
यूवा भनेको जोश र जांगरको पर्याय हो। जुन क्षेत्रले पनि यूवाको माग गरेको पाईन्छ। वैदेशिक रोजगारीमा भएको यूवाको प्रवाहले हाम्रो परम्परागत कृषि ब्यबसाय संकटमा परेको छ। त्यसै गरी देश र जनताको सेवाको माध्यम बन्नु पर्ने राजनीतिमा पनि यूवाको कमी देखिएकोले राजनीति विकृत बन्न पुगेको छ। तर हाल नेपालमा नेपाली कांग्रेस होमिएको महाधिवेशनको स्थानीय तहको निर्वाचनमा यूवाहरूको प्रवेशको खवरले सीमित मात्रामा भए पनि नेपालको राजनीतिमा केही आशा पलाएको अनुभूति गरिदै छ। यो चुनावमा नाती र छोराको पिंढीले बाजे र बाबुको पुस्तालाई बदल्न खोज्दै छ।
त्यसै गरी छोरी, बुहारीहरू पनि अगाडि देखिएका समाचारहरू आई रहेका छन्। यसरी राजनीतिमा यूवा पिढीको प्रवेशले राजनीतिक क्षेत्रको विकृति र विसंगतिलाई सीमित मात्रामा भए पनि कम गर्ने आशा गर्न सकिन्छ। नेपाली युवाहरूमा देखिएको यो प्रवृत्ति अन्य दलहरूमा समेत देखा पर्ने अपेक्षा गरिन्छ। नेपालको राजनीति हाल पाको पुस्ताले ओगटी राखेको पाईन्छ, यो पुस्तालाई पद र कुर्सीको मोहले गांजेको छ, यो पुस्ता बढी लोभी पनि छ, नातावाद र कृपावादमा रमाउने प्रवृत्ति यो पाको समूहमा देखिन्छ। विज्ञान र प्रविधिको विकासले संसारलाई सांघुरो बनाएको विषयमा यो पाको पुस्ता अनभिज्ञ झै देखिन्छ। विकास संगै आफूलाई बदल्न पनि नसक्ने र पद पनि नछोड्ने हठी स्वभाव बुढौलीको रोगै हो तर यो रोग स्वीकार गर्न नसक्ने मनोवृत्तिले गांजेको यो पाको समूहले नेपालको राजनीतिलाई थप विषाक्त बनाएको छ।
नेपालको राजनीतिको पृष्ठभूमि हेर्दा नेपालको राजनीति आन्दोलन, हत्या- हिंसाको जगबाट हुर्कदै आएको पाईन्छ। राणाको जहानिया शासन, राजा महेन्द्रको निर्दलीयता, राजा ज्ञानेन्द्रको महेन्द्र पथले नेपालका राजनीतिक दलहरूलाई बढी आन्दोलित तुल्याएको पनि हो तर पनि आन्दोलनको नाममा २०५२ साल वाट गरिएको माओवादी आन्दोलनले हत्या र हिंसा बाहेक केही उपलब्धी दिन सकेन, बरू नेपाली युवाहरू जीऊ ज्यान बचाउन विदेशिनु पर्ने स्थिति सिर्जना गर्यो। माओवादको नाममा भएको कथित आन्दोलनले सीमित रूपमा खडा भएका विकासका संरचना र वेरोजगारी कम गर्न खडा भएका उद्योग धन्दा पनि तहसनहस पारिदिदा यूवाहरूको पलायनलाई थप सहयोग गर्यो जसले नेपालमा युवाहरूको अभाव हुदै गयो र जसको अशर नेपालको राजनीतिमा आज सम्म पनि देखा परिरहेको छ।
नेपालको राजनीतिमा पाको पुस्ता हावी हुदा उसले युवाहरूलाई राजनीतिमा आकर्षण गराउने नीतिहरू अवलम्बन गर्न चाहेन र सकेन पनि ।आफ्नो पछि लाग्ने युवालाई मात्र स्वीकार गर्ने, युवाहरूलाई नेत्तृत्त्वमा जान नदिने जस्ता गलत कृयाकलापले यूवालाई दुरूत्साहन गर्यो जसको अशर नेपालको राजनीतिमा पनि पर्यो। तर अहिले परिवेश केही फरक हुदै गएको छ। संसदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलोको रूपमा चित्रित गर्ने विचारका वाहक पनि संसद भित्र आएर राजनीतिक प्रतिस्पर्धामा देखा परेका छन्। साम्यवाद बाट समाजवादमा आएका छन्। लोक तन्त्र भनेर प्रजातन्त्रलाई मान्न थालेका छन्।राज्य नियन्त्रित अर्थ ब्यबस्थाको सट्टा मिश्रित अर्थ ब्यबस्थालाई मान्न थालेका छन्। आवधिक निर्वाचन र स्वतन्त्र न्यायपालिकालाई स्वीकार गर्दैछन्।
विगतमा गरेको हत्या हिंसा उपर पश्चाताप गर्दैछन्। यसरी देखिएको परिवर्तनले पनि राजनीतिमा युवाको सहभागिता बढाएको छ। खेती गर्ने युवाहरू नपाएर खेतवारी बांझो रहेको अबस्था, मानिस मर्दा मलामा जाने युवा नभएर लास सड्न पुगेको अवस्था, घर आंगनमा झार उम्रेको अवस्था, पाका र बृद्धबृद्धाहरू बाट घर कुर्नु पर्ने अवस्थाहरूले मुलुकमा युवाहरूको अभावको संकेत गरिरहेका छन्। यी र यस्तै बिभिन्न समस्याहरूको सम्बोधन गर्न दर्हो र सक्षम राजनीतिको खांचो पर्छ र यस्तो राजनीतिको लागि दूर दर्शी र सक्षम राजनेता चाहिन्छ। दूरदर्शी र सक्षम राजनीतिको लागि यो क्षेत्रमा युवाहरूको सहभागिता र संलग्नता जरूरी हुन्छ।यसैले नेपालका संपूर्ण राजनीतिक दलहरूले राजनीतिमा यूवाहरूको प्रवेशलाई सहज बनाउन जरूरी छ।