रमण नेपाल लक्ष्मी बैंकको अध्यक्षमा नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका रमण नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै बैंकका क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव छ । उनै अनुभवी नेपाललार्इ लक्ष्मी बैंकको अध्यक्षमा नियुक्त गरिएको छ । सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । उनले बुधबारदेखि नै लागू हुने गरी बैंकको अध्यक्ष पदको जिम्मेवार सम्हाल्ने छन् । नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका गभर्नरसँग अनलाइनबाट सपथग्रहण लिएका छन् ।
नेपाल २०७५ फागुनदेखि सोही बैंकको सञ्चालक समितिका सदस्य रहेका थिए । हाल उनी नागरिक लगानी कोषको कार्यकारी निर्देशक छन् । नागरिक लगानी कोष लक्ष्मी बैंकको प्रवर्धक सेयरधनी हो । कोषको लक्ष्मी बैंकमा करिब १५ प्रतिशत सेयर लगानी रहेको छ ।
मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका स्थायी घर भएका अध्यक्ष नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका छन् ।