यिनलाई न्याय मिल्यो त श्रीमान् ?

khabarwave
२७ भाद्र २०७७

काठमाडौँ । करोडाैं र अरवौं खानेलाई चोख्याउने र फाइल नै नपल्टाउने अख्तियारले साना तिना कर्मचारीलाई हजार थमाएर अपराधी करार गर्छ । हो घुस एक रुपैयाँ भए पनि अपराध हो । तर राज्यको करोडौं खानेहरु खुलेआम हिँडिरहेको बेला एक दुई हजारमा लोग गर्नेहरुको बेहाल भएको छ । एक हजार रुपैयाँ घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका कलङ्की मालपोत कार्यालयका खरिदार रामहरि सुवेदीलाई विशेष अदालतले आरोपबाट सफाइ दिएको छ । तर यो सफाइ पाएको खुशीयाली कही कतै छैन । किनकि यही अभियोग सहन नसकेर उनले संसार छाडिसकेका छन् ।

अभियोग प्रमाणित हुन नसकेर सफाइ पाएको फैसला सुन्न नपाउँदै मुद्दा चलेर धरौटीमा छुटेको एक सातापछि उनले घरमै झुन्डिएर आत्महत्या गरेका थिए । गत साउनमा कलङ्की मालपोतबाट ल्याइएको सिसिटिभी फुटेजको रेकर्डका क्रममा सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग एक हजार रुपैयाँ लिएको दृश्य देखिएको भन्दै अख्तियारले खरिदार सुवेदीलाई आयोगमा बोलाएको थियो । सिसिटिभी फुटेज विश्लेषण गर्दा कृष्णप्रसाद घिमिरेबाट १ हजार घुस लिएको भन्दै उनलाई अख्तियारमा हाजिर हुन बोलाएको थियो।

बयानकै क्रममा साउन २२ गते हिरासतमा लिएको अख्तियारले ४० थुनेर ४१औँ दिनमा मुद्दा चलायो । मुद्दा दायर भएको रातसमेत अख्तियारमै बिताएर उनी भदौ ३१ गते धरौटीमा रिहा भए । छुटेको एक सातापछि सुवेदीले २०७६ असोज ६ गते भक्तपुरस्थित आफ्नै घरमा आत्महत्या गरे । पुस र फागुनमा दुई पटक सुनुवाइ गरेपछि विशेष अदालतले गत असार ३० गते घिमिरेलाई सफाइ दियो । फैसलाको पूर्ण पाठ भने सार्वजनिक भइसकेको छैन । विशेष अदालतका सदस्यहरू चन्द्रबहादुर सारू र रवि शर्मा अर्यालको इजलासले आरोप पुष्टि हुन नसक्ने भन्दै सफाइ दिएको हो ।

सुवेदीले घुस लिएको भनिएको रकम बरामद नभएको तथा घुस दिने भनिएका व्यक्ति उक्त कार्यालयका सेवाग्राही भए/नभएकोबारे अख्तियारले अभियोगमा केही उल्लेख गर्न नसकेको फैसलामा उल्लेख छ। पछिल्ला केही घटनाक्रमहरूलाई केलाउँदा अख्तियारका अपरेसन र कामकारबाहीमाथि जनस्तरबाटै प्रश्न उठ्न थालेको छ । स–साना रकमका तल्लो तहका कर्मचारीहरूलाई थुन्ने तथा कारबाही चलाउने र ठुला भ्रष्टाचारका मुद्धाहरु तामेली राख्दै चोख्याउने गरेको आरोप अख्तियारमाथि छ । विगत केही वर्षयताका घटनाक्रमहरूले पनि यही देखाउँछ । त्यसो त निरोधात्मकतर्फ के गर्‍यो त भन्ने प्रश्न अर्को जवर्जस्तरुपमा खडा भएको छ ।

Loading spinner