यस कारण रोकियो मन्त्रिमण्डल पुनर्गठन, वामदेव राेक्न अनेक प्रपञ्च

khabarwave
२१ भाद्र २०७७

काठमाडौं । शुक्रबार बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकमा डा. युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएर बिदावारी भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सोही बैठकमा मन्त्रि मण्डल पुनर्गठन तत्काल नहुने भन्दै मन्त्रीहरुलाई आश्वस्त पारेका थिए । अघिल्लोदिन सम्पन्न सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौगतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय सुनाएका प्रधानमन्त्री ओलीले शुक्रबार बोलाइएको बैठकमा उनै वामदेवलाई मनोनितका लागि सिफारिश गर्ने अनुमान गरिएको थियो । सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा वामदेवको सिफारिश गर्ने निर्णय हुने अनुमान गरे पनि प्रधानमन्त्री ओलीले बैठकमा उक्त कुराको उच्चारण नै गरेनन् ।

बैठकको अन्तिमसम्म पनि वामदेवको सिफारिसको निर्णय हुने एजेन्डा प्रधानमन्त्रीले ल्याउलान् भनेर मन्त्रिहरु कानेखुशी गरिरहे तर बैठकको अन्तिमसम्म पनि सिफारिशसम्बन्धी उच्चारण नै नगरेपछि मन्त्रिहरु नै हिस्स परेको एक मन्त्रीले बताएका छन् । राष्ट्रियसभामा प्रवेशसँगै अर्थमन्त्रीमा दाबी गरेका र पार्टीमा अध्यक्ष प्रचण्ड निकट मानिएका स्थायी समिति सदस्य जनार्दन शर्माको मुखबाट समेत लगाएका गौतमले मन्त्री त परको कुरा राष्ट्रियसभा सदस्यका लागि सिफारिशमा समेत परेका छैनन् । शुक्रबार बेलुका खतिवडाको राजीनामा स्वीकृत भएसँगै अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेका प्रधानमन्त्री ओलीले सञ्चारमा नयाँ अनुहार ल्याए पनि अर्थ आफैंसँग राखेर डा. युवराज खतिवडालाई आर्थिक सल्लाहकार नियुक्त गर्दै तालाचाबी सुम्पिने योजना बनाएका छन् ।

सञ्चारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वा पर्यटनमन्त्री योगेश भट्टराईलाई जिम्मा लगाउने योजना प्रधानमन्त्रीको रहेकै कारण तत्काल पार्टी उपाध्यक्ष वामदेव गौतमको सरकार प्रवेश हुने सम्भावना टर्दै गएको स्रोतले बताएको छ । राष्ट्रियसभा सदस्य बनाउने पार्टीको दबाव मान्न प्रम ओली बाध्य भए पनि मन्त्रिमण्डल पु्नर्गठनको अधिकार प्रधानमन्त्रीको भएका कारण वामदेवलाई उपप्रधान तथा बलियो मन्त्रालयको जिम्मेवारी दिन ओली इच्छुक नभएकै कारणले गर्दा शुक्रबारको मन्त्रिपरिषद् बैठकमा तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने घोषणा बैठकमै गरेका हुन् ।

यसैबीच, राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमभन्दा आफू योग्य भएको भन्दै एक युवती मैदानमा आएकी छिन् । पार्टी विवाद चर्किएका बेला नेकपा दर्ता गर्न निर्वाचन आयोगमा कार्यकर्ता खटाउने ओलीले वामदेवको यात्रा रोकन यस्तो प्रपञ्च थालेको त होइन भन्ने राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ । ती युवतीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएकी छन् । गौतमको सट्टा आफूलाई राष्ट्रिय सभामा लैजान आग्रह गर्दै चितवनकी तारा बरालले आइतबार प्रधानमन्त्री कार्यालयमा निवेदन दिएकी हुन् । स्थायी घर चितवनमा रहेकी बराल हाल कीर्तिपुरमा बस्दै आएकी विद्यार्थी हुन् । त्रिविको मानवशास्त्र केन्द्रीय विभागबाट एमफिल गर्दै गरेकी बरालले आफूले अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको बताएकी छिन् ।

Loading spinner