मौन अवधिमा फेसबुकमा लाइक र कमेन्टसमेत गर्न समेत नपाइने

khabarwave
३ मंसिर २०७९

काठमाडौं । निर्वाचन अनुगमन समितिले मौन अवधिमा निर्वाचन अचारंसहिता उल्लंघन गर्नेलाई २५ हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । निर्वाचनको अघिल्लो ४८ घण्टादेखि निर्वाचनको दिनसम्म पालना गर्नुपर्ने मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ । निर्वाचन आयोगले यस अवधिमा फेसबुक जस्ता सामाजिक सञ्जालमा कमेन्ट, शेयर, पोष्ट, बुस्ट र लाइकसमेत गर्न नपाइने जनाएको छ । साथै, यस समयमा कुनै पनि निर्वाचनसम्वन्धी विज्ञापन पनि नगर्न आग्रह गरिएको छ । बिहीबार रातिदेखि मौन अवधि सुरु भएको हो । यस अवधिमा आचारसंहिता उल्लंघन गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपियाँसम्म जरिवाना गर्न सक्छन् ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई दिइएको छ । मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थन लगायतका निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न पनि आयोगले निर्देशन दिएको छ । मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्‍केतिक अर्थ जनिने पोशाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकर लगायतका पहिरन र चीज वस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

Loading spinner