मध्यपुरमा कसकाे नियत के ? 

khabarwave
२९ कार्तिक २०७७

भक्तपुर ।  कार्तिक २ गतेको डाकिएको कार्यपालिका बैठकमा नेपाली काँग्रेसको देउवा खेमासँग अस्पतालको व्यवस्थापन समितिमा भागबण्डा र स्वयंसेवकका रुपमा खटाइएका नगरप्रहरीलाई स्थायी नियुक्ति गर्ने कुरा नमिले पछि छताछुल्ल भएको विवादले मेयर मदनसुन्दर श्रेष्ठलाई एक्कासी पौडेल पक्षसँग मिलेर बैठक बस्न वाध्य बनायो । काग्रेसका दुबै गुटलाई खेलाउन सिपालु मेयर श्रेष्ठले कार्तिक २ गतेको बैठकमा हस्पिटललाई एक करोड अनुदान निकासा गराउनुका साथै  उपत्यका मेयर फाेरमका नाममा नगरपालिकाबाट दश लाख अनुदान दिने पनि निर्णय गराए । अस्पताललाई रकम अनुदान दिंदा व्यवस्थापन समिति पूर्णरुपमा गठन गर्नु पर्छ भन्ने हेक्का समेत नभएका पौडेल पक्षले देउवा पक्षको रिस फेर्न मेयरलाई यसमा पूर्ण साथ दिए ।

कार्तिक २ गतेको बैठकमा आफू अनुपस्थित हुँदा मेयरलाई अपठ्रयारो पार्न सकिन्छ भन्ने भ्रममा बसेको देउवा पक्षले कार्तिक ५ गते नगर समितिको बैठक डाक्यो । बैठकमा नगरसभापति सुरेन्द्र श्रेष्ठले अरुको कुरा नै नसुनी एकलौटी रुपमा अब उप्रान्त नगर समितिको सहमति विना कार्यपालिका बैठकमा सहभागि नहुने भनेर निर्णय गरी काँग्रेस तर्फका सबै सदस्यहरुलाई निर्देशन नै जारी गरे । काम भैसकेका योजनाको हकमा गरिएको लगत इष्टिमेट स्वीकार नगर्ने तथा कार्यविधि विना गठन गरिने उपभोक्ता समितिलाई स्वीकार नगर्ने अडान लिएका प्रमुख प्रशासकीय अधिकृतसँग डराएका मेयरले आफैंले सही गरेर कार्तिक ६ गते कार्यपालिका बैठक बोलाए पछि विवादहरु मिडियामा आउन लागे । कार्तिक २ गते पार्टीमा देउवा पक्षको सहमति विना बैठकमा सहभागि भएको पौडेल पक्ष ६ गतेको बैठकमा सहभागि हुन हच्कियो । पछि कार्तिक १३ गते पौडेल पक्षका वडाध्यक्ष एवं प्रवक्ताले पाटीको निर्णयानुसार बैठकमा सहभागि नभएको भनेर विज्ञप्ती नै सार्वजनिक गरेका थिए ।

कार्तिक ६ गते कार्यपालिका बैठकमा बहुमत नपुगे पछि आफैंले निर्णय गरेर प्रमुख प्रशासकीय अधिकृत उद्धबप्रसाद रिजाललाई मन्त्रालय फिर्ता पठाउन पत्रकार सम्मेलन गर्ने मेयर श्रेष्ठ मिडियाबाट आलोचित हुदै र एक्लिदै गए पछि छटपटिनु स्वभाविकै हो । मेयर श्रेष्ठ नातेदारसमेत रहेका सुरेन्द्र श्रेष्ठलाई साथ दिन हार गुहार गरे । ४ नं.वडाध्यक्ष कुमार श्रेष्ठ सहित मिलेर दशैंको अवधिमा देउवा पक्षलाई साथ दिन राजी गराए पछि कार्तिक २३ गतेको प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाउने एकल एजेण्डा पारित गर्न देउवा पक्षले साथ दियो ।

आफू मेयरमा निर्वाचित भएको साँढे तीन वर्षको अवधिमा मेयर श्रेष्ठले काँगेसको दुइगुटलाई मज्जाले लडाएर आफूले वहुमत पुर्याउँदै आएका छन् । केन्द्रदेखि नै मिल्न नसकेका काँगेसका दुई गुटलाई मेयर श्रेष्ठले बेला बेला बिभिन्र रणनितिकासाथ निकट बनाइरहने गरेकाे बताइन्छ। देउवा खेमाका स्थानिय नेतालाई नगर प्रहरी भर्ना, योजनामा बजेट विनियोजन तथा उपभोक्ता समितिमा हाली मुहाली गर्न पाउने वचन दिएर चौथो नगरसभामा  सदस्यहरुको हस्ताक्षर गराएर नगरसभा सम्पन्न गराइएकाे चर्चा छ । नगरसभा सदस्य रमेश थापाका अनुसार चौथो नगरसभाको उपस्थिति सभा हुनु अघिल्लो दिन घरघरमा गएर गराइएको थियो । करीव ४ मिनेटमा ११ वटा विधेयक, बजेट, नीति तथा कार्यक्रम पास गर्ने नगरसभा सहज थियो भनेर कसैले पनि पत्याउँदैन ।

जेठ ३२ गतेको कार्यपालिका बैठकमा २० जना स्थानीयलाई नगरप्रहरीको काम गर्ने गरी नियुक्त गरिएकोमा १४ जना देउवा पक्षका नेताकाे रहेको बताइन्छ । यो नियुक्तिमा आफ्रना मान्छे नपरे पछि कृषि तालिम केन्द्रमा बसेको बैठकमा पौडेल पक्षले बैठक हलमै तोडफोड गरेको थियो भने मेयर श्रेष्ठले देउवा पक्षको समर्थनमा छलफल नै नगरी बैठकका सबै एजेण्डाहरु पारित भएको घोषणा गरेको थिए । यो बैठक स्थगित भएको घोषणाका लागि दवाव दिन पौडेल पक्षका नेता एवं गत निर्वाचनमा मेयरका प्रत्यासी अष्ट कवें आफ्नो दलबल सहित बैठक स्थल तालिम केन्द्र पुगेका थिए । यसै वीच मेयर पक्षले पनि साेही रणनिति अपनाएपछि पछि दुबै पक्ष सहमतिमा पुगेका थिए ।

आषाढ १० गते उद्घाटन भएको नगरसभामा पौडेल पक्षले सहभागिता जनाएन । उपमेयर सहित पौडेल पक्ष अनुपस्थित भए पछि नगरसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरिएन । औपचारिकता मै समापन भएको नगरसभाको बैठक आषाढ ३१ गते बोलाइयो । मेयरले यस वीचमा आफ्रनै पार्टीका नेता , काग्रेसका केही नेतालाई साथ लिएर बजेट बाँडफाँट गरे । बजेट बाँडफाँटमा उल्लेखित् व्यक्ति वाहेक अन्य व्यक्ति जस्तै उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न समितिका संयोजक कसैकाे पनि सहभागिता थिएन। आषाढ ३१ गते ११ बजे बोलाइएको बैठक सूचना टाँसेर २ बजे सारे पनि बजेट बाँडफाँटमा सहमती हुन नसके पछि अवण्डामा बजेट राख्ने सहमती गरेर ४ बजे बैठक बसाइयो र ४ मिनेटमा समापन गरियो । दृश्य यस्तो पनि देखियो कि अधिल्लो दिन कार्यपालिका बैठकमा सर्वसम्मत निर्णय गर्न सहभागि भएको उपमेयर सहितको पौडेल पक्ष बैठकहलमा प्रवेश गर्न कम्पाउण्डमा दगुर्दै गर्दा बैठक शुरु अनि समापन भैसकेको थियो ।

अपमानको पनि सीमा हुन्छ । अघिल्लो दिन कार्यपालिकामा उपस्थित भएर सबै एजेण्डामा सहमति जनाई सौहार्दपूर्ण व्यवहार गरेका उपमेयर पक्षलाई नगरसभामा सहभागि हुन्छु भन्दा भन्दै सहभागि नै नगराउने दुस्साहस कस्ले रच्यो ? प्रश्न हो यो । काग्रेस भित्र अर्को गुटभन्दा मेयर आफ्रनो ठान्ने देउवा पक्ष तथा देउवा पक्षमा आफ्ना आफन्तहरुकै वाहुल्यता रहेका कारण उपमेयर पक्षलाई पेलेरै जान सकिन्छ भन्ने  अहम्को क्रिडास्थल बनेको छ नगरपालिका ।- अशाेक बस्नेतबाट

Loading spinner