भीआईपी आवासका नाममा अरवाैंका योजना, प्रदेशका भीआईपीलाई केन्द्रमै बन्दोबस्ती

khabarwave
११ कार्तिक २०७७

काठमाडौं । मुलुक संघीयतामा गए पनि केन्द्रीकृत मानसिकता अझै हट्न सकेको छैन । प्रदेश सरकारलाई अधिकार दिन हिचकिचाउने संघीय सरकारले तिनै प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि भनेर उपत्यकाको ललितपुरमा स्थायी आवासको जोहो गर्दैछ । अस्थायी आवास भने ललितपुरको डाउन टाउनमा राखिएको जहाँ संघीय सरकारको शहरी विकास मन्त्रालय मातहतको शहरी विकास कार्यालयले मासिक लाखौं भाडा व्यहोर्दै छ । सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि गत एक वर्ष अघि नै डाउनटाउको १५ वटा अपार्ट भाडामा लिएर प्रयोग गरिरहेको छ ।

जबकि ती १५ वटा अपार्टमा मुस्किलले महिनामा एक दुई पटक मात्र केही दिन र छिनका लागि प्रयोग हुने गरेका छन् । ताल्चा लगाएका प्रदेश प्रमुख र मुख्यमन्त्रीका डेराको भाडा संघीय सरकारले व्यहोरीरहेको छ । एउटा अपार्ट बराबर करिब ५० देखि ६५ हजारसम्म मासिक भाडा व्यहोरीरहेको छ । अस्थायी आवासमा सन्तोष नमानेर स्थायी आवासकै प्रबन्ध संघीय सरकारले गरिरहेको छ । जसका लागि सरकारले काठमाडौँ उपत्यकामा १० अर्ब रुपैयाँ लगानी गरेर पाँचवटा भीआईपी भवन निर्माण गरिरहेको छ । प्रधानमन्त्री निवास, मन्त्री निवास, प्रदेश प्रमुख, मुख्यमन्त्री निवास र विशिष्ट कामको लागि प्रयोगमा आउने संसद् भवन र सम्मेलन केन्द्रको काम अगाडि बढेको छ ।

पाँच परियोजनामध्ये ललितपुरको गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको सम्मेलन केन्द्रको काम धेरै सकिएको छ । बाँकी परियोजना निर्माणको काम कछुवा गतिमा भइरहेको छ । यी सबै भवनको ठेक्कादेखि निर्माणको काम अघिल्लो वर्षदेखि सुरु भएको हो । परियोजना निर्माण सम्पन्न गर्न १० अर्ब ३६ करोड रुपैयाँ खर्च हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।

 

कुन परियोजनमा कति लगानी ?

सरकार मोटो रकम खर्च गरेर भीआईपी भवन र आवास निर्माणको काममा जुटेको हो । शहरी विकास मन्त्रालयका अनुसार सिंहदरबारभित्र निर्माण भइरहेको संघीय संसद् भवनका लागि मात्र ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ खर्च हुनेछ । बालुवाटरमा बनिरहेको प्रधानमन्त्रीको नयाँ आवासका लागि ४५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवासमा २ अर्ब ८३ करोड रुपैयाँ, प्रदेश प्रमुख र मुख्य मन्त्रीहरूको आवासमा ७३ करोड ३८ लाख रुपैयाँ, गोदावरीमा निर्माण भइरहेको सम्मेलन केन्द्रमा ६६ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यी परियोजनाको निर्माणमा जति ढिलाइ हुँदै गयो लागत पनि बढ्दै जानेछ । निर्माणको सुरुवातमै परियोजनाले कछुवाको गति समातेको हुनाले निर्माणमा ढिलाइ हुने सम्भावना धेरै देखिन्छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्री निवास

सरकारले भैँसेपाटीमै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि पनि भीआईपी आवास कोलोनी बनाउँदै छ । २७ रोपनी १२ आना क्षेत्रफलमा सातवटा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि दुई/दुईवटा भवनसहितका सात वटा ब्लक बनाइँदै छ। जसमा १४ वटा साढे दुई तलाका सुविधासम्पन्न बंगला हुनेछन् । हरेक ब्लकको एउटा बंगलामा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखको निवासका लागि प्रयोग हुनेछन् ।

संघीय संसद् भवन

सिंहदरबारभित्र निर्माण भइरहेको संघीय संसद्को भवन १५३ रोपनी ८ आना क्षेत्रफलमा बन्नेछ । यो परियोजनाभित्र १२ वटा भवन बन्नेछन् । जसमा प्रतिनिधिसभा, राष्ट्रियसभा, अति विशिष्ट व्यक्तिको कार्यालय, संसदीय समिति, संसदीय सचिवालय, राष्ट्रपति, प्रधानमन्त्री र विदेशी विशिष्ट पाहुनाबाट हुने सम्बोधनका लागि दुईवटै संसद्का सदस्य अटाउनेखालको साझा हल, पुस्तकालय, संग्रहालय, राजनीतिक पार्टीका संसदीय दलको कार्यालय, चमेनागृह, प्रेस तथा छापाखाना भवन र पार्किङ, सुरक्षाकर्मीको भवन बन्नेछन् ।

संघीय संसद् परिसरमा भीभीआईपी, सांसद, कर्मचारीका लागि छुट्टाछुट्टै प्रवेशद्धार निर्माण हुनेछन् ।संसद् भवन निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि एक वर्ष समय सकिँदासम्म जम्मा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ । ‘अहिलेसम्म हामीले २० प्रतिशत भौतिक काम सम्पन्न गरिसक्नुपथ्र्यो,’ आयोजनाका प्रमुख दिलिप भण्डारी भन्छन्, ‘तर लक्ष्यअनुरूप काम हुन सकेको छैन ।’ यो परियोजनालाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ र सडक पूर्वाधार गरी चारवटा भागमा बाँडिएको छ ।परियोजनाको कुल क्षेत्रफलमध्ये २७ प्रतिशत भागमा भवन, ४५ प्रतिशत भाग खुला हरियाली र बाँकी २८ प्रतिशत भू–भागमा सडक पूर्वाधार निर्माण गरिने बताइएको छ । परिसरभित्र करिब साढे तीन सय गाडी अटाउने पार्किङ निर्माण गरिनेछ ।

निर्माण गरिएका भवनकोकरिब ४५ प्रतिशत भागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ । यो भवन निर्माणको जिम्मा एसएचईसी र टुन्डी कम्पनीले पाएका छन् । यो भवनलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको राजनीतिक, इन्जिनियरिङ र आर्किटेक्चरल उपलब्धिका रूपमा चिनाउने ‘स्टेट अफ आर्ट’ प्रोजेक्ट बनाउने लक्ष्य राखिएको छ ।

प्रधानमन्त्री आवास भवन

बालुवाटारमा नेपाली संस्कृति र परम्परागत शैलीमा प्रधानमन्त्रीको नयाँ आवास भवन बन्दैछ । निर्माणाधीन पूर्वतर्फ फर्किएका दुईवटा भवनमध्ये एउटा प्रधानमन्त्रीको निजी निवास र अर्को सार्वजनिक प्रयोगमा आउने भवन हुनेछ ।तीन तलाको सार्वजनिक भवनमा अतिविशिष्ट भेटघाट कक्ष, क्याबिनेट हल, ४० सिट क्षमताको डाइनिङ हल, सूचना कक्षलगायत हुनेछन् ।

प्रधानमन्त्रीको निजी निवासको भुइँतलामा गेस्टरुम, लिभिङ रुम, किचेन–डाइनिङ, लन्ड्री, सुरक्षा गार्डका कक्ष हुनेछन् । पहिलो तलामा मास्टर बेडरुम, परिवारका लागि बेडरुम, फेमिली रुम, भान्छा, अध्ययन कक्ष, पूजाकोठा, थिएटरलगायत रहनेछन् ।

दोस्रो तालामा अतिविशिष्ट पाहुनाका लागि तीनवटा बेडरुम, सहयोगी र सुरक्षाकर्मीका लागि कक्ष, भान्छा, लबीलगायत हुने बताइएको छ ।एक रोपनी क्षेत्रफलमा फैलिने प्रधानमन्त्री निवास पनि तीन तलाको हुनेछ । सार्वजनिक भवन भने दुई रोपनी क्षेत्रफलमा फैलिनेछ ।

सम्मेलन केन्द्र

ललितपुरको गोदावरीमा करिब ४४ रोपनी क्षेत्रफलमा तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भइरहेको छ । परियोजना अनुसार सम्मेलन केन्द्र भवनले १२ रोपनी, १६ रोपनीमा बगैँचा, हरियाली र १३ रोपनी क्षेत्रफल पार्किङले ओगट्ने छ। सम्मेलन केन्द्रको ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।सुविधासम्पन्न सम्मेलन केन्द्र निर्माणपश्चात् राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा–सम्मेलन गर्न ठूला होटल धाउन पर्दैन ।

मन्त्री निवास

भैँसेपाटीमा ९६ रोपनी १० आना जग्गामा निर्माण गरिने मन्त्री निवास अत्याधुनिक सुविधासम्पन्न हुनेछ । यो परियोजनामा १२ रोपनी क्षेत्रफलमा आवासीय भवन, ११ रोपनीमा हेल्थ क्लब, ३८ रोपनी क्षेत्रफलमा ग्रिनरी, आवास परिसरभित्रको आन्तरिक सडकका लागि २१ रोपनी क्षेत्रफल छुट्याइएको छ । यो परियोजनमा मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुखका लागि गरी २७ वटा आवासीय भवन बन्नेछन् । मन्त्री निवासको २५ प्रतिशत भौतिक प्रगति भइसकेको बताइएको छ । मन्त्री निवासभित्र बनाइने २७ भवनमध्ये ११ भवनको ‘अप्पर टाई बिम’ को काम सम्पन्न भइसकेको छ भने १६ ब्लकको ‘लोअर टाई बिम’को काम सम्पन्न भइसकेको छ ।

परिसरभित्र हेल्थ क्लब, हेलिप्याड, स्विमिङ पुल, सुरक्षाकर्मीको आवास, बहुउद्देश्यीय सभाहललगायत हुनेछन् । सात रोपनी क्षेत्रफलमा कम्युनिटी हल र दुई रोपनी क्षेत्रफलमा ग्रोसरी स्टोर बन्नेछ ।  सबै भवन परम्परागत नेपाली शैलीका साढे दुई तलाका हुनेछन् ।

Loading spinner