भारत भ्रमणको उपादेयता
यही अप्रिल १ देखि ३ सम्म नेपालका प्रधान मन्त्री शेर वहादुर देउवाले भारतीय समकक्षीको निमन्त्रणामा छिमेकी देश भारतको भ्रमण गर्दैछन् र यो भ्रमण यो सरकार बनी सके पछिको पहिलो औपचारिक भ्रमण हो। हुन त यो भन्दा अगाडि पनि देऊवाको जनवरी १० देखि १३ सम्म भारतको गुजरातमा हुन गै रहेको गुजरात ग्लोवल समीटमा जाने कार्यक्रम थियो तर कोभीड-१९ का कारणले उक्त कार्यक्रम नै स्थगित भए संगै देऊवाको भ्रमण रोकिएको थियो।
नेपालमा सरकार परिवर्तन भए पछि पहिलो औपचारिक भ्रमण दक्षिणी छिमेकी देश भारतबाट आरम्भ गर्ने चलन रहदै आएको छ। हुन पनि भौगोलिक अवस्थितिका कारण मात्र नभएर भारत संग नेपालको ऐतिहासिक , सांस्कृतिक एवं आर्थिक तवरबाट समेत सन्निकट सम्बन्ध रहदै आएको छ। यसै कारणले पनि नेपालको प्राथमिकतामा विश्वका अन्य देशको तुलनामा भारत नै अग्र स्थानमा रहेको पाईन्छ।
यसरी बेला बेलामा हुने औपचारिक वा अनौपचारिक भ्रमणहरूले दुई देश बीचको सम्बन्धलाई अरू बढी बलियो बनाउन मद्दत गर्छन्। नेपाल र भारत बीच सल्ट्याउनु पर्ने विविध विषयहरू थांती रहेको अवस्था एकातिर छ भने विश्व परिवेशले सृजना गरेका थप विषयहरूमा पनि साझा धारणा बनाउनु पर्ने अर्को पक्ष भएको छ। हामी वीचका सीमा विवादहरू कायमै रहेको अवस्थामा नेपालको उत्तर पश्चिममा रहेको कालापानी,लिपुलेक,लिम्पियाधुराको समस्या थपिएको छ।
यसै प्रसंग संग जोडिएको तुईन प्रकरण समेत समाधान हुन सकेको छैन। त्यस्तै दुई देशका प्राविधिकहरूले सहमती जनाएर तयार पारेको EPG Report भारतीय पक्षको प्रतिकृयाको प्रतिक्षामा छ। त्यस्तै पन्चेश्वर वहु उद्देश्यीय परियोजना,अपर कर्णाली,हुलाकी राजमार्ग समेत सम्बोधनको पर्खाईमा छन्। हाल नेपालको संसदबाट अमेरिकी सहयोग परियोजना एम सी सी पारित भै कार्यान्वयनको चरणमा प्रवेश गरेको छ र यो परियोजनाबाट निर्माण हुने विद्युत प्रसारण लाईन मित्र राष्ट्र भारत संग समेत सम्बन्धित भएको र त्यसमा नेपालको उत्तरी छिमेकी देश चीनको केही शंसय (Doubts)रहेको बुझिएकोले यो विषयमा भारतलाई स्पस्ट पार्नु पर्ने देखिन्छ।
त्यसै गरी हाल जारीरहेको रूस र यूक्रेन बीचको युद्धमा भारत समेत हाम्रा दुवै छिमेकी तटस्थ रहेको तर नेपाल भने साना राष्ट्र उपर ठूला राष्ट्रले थिचोमिचो गर्न नपाउने र एक सार्वभौम राष्ट्रले आफ्नो विषयमा निर्णय गर्न स्वतन्त्र हुन्छ भन्ने मान्यतामा यूक्रेनको पक्षमा लागेको विषयमा नेपालले भारत संग धारणा राख्ने अवसरको रूपमा पनि यो भ्रमणलाई हेर्न सकिन्छ। यसै गरी लामो समय देखि नै हामी दुई देश बीच हुने ब्यापार तथा पारवहन सम्बन्धमा समेत बेलाबेलामा समस्या आएर लामो समय सम्म सामान ओसारपसारमा समस्या देखिने गरेको छ जसलाई यो भ्रमणले सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै भारत सरकारले भा रू ५०० को नोटमा प्रतिबन्ध लगाए संगै नेपाल राष्ट्र बैंकमा मौज्दात उक्त दरका नोटको समस्या समाधान नहुदै भारतले फेरि १००० दरका नोट वन्द गरी भा रू २००० दुईहजारका नोट सन्चालनमा ल्याउदा नेपाललाई परेको मौद्रिक समस्याको बारेमा पनि यो भ्रमणमा कुरा उठेर समाधान हुने अपेक्षा गर्न सकिन्छ। यसरी हुने भ्रमणहरू औपचारिकतामा मात्र सीमित नरही फलदायी हुन सकेमा हामी बीचको सम्बन्ध सुमधुर मात्र हैन, एक आपसमा विश्वास समेत बढेर हाम्रो परम्परा देखिको ऐतिहासिक एवं सांस्कृतिक सम्बन्ध थप बलियो हुदै जाने अपेक्षा गरिएको छ।