ब्यबसायको रूपमा राजनीति

khabarwave
२६ पुष २०७७

बाॅंच्न वा जीउनको लागि गरिने कामलाई ब्यबसाय भनिन्छ भने देश र जनताको उन्नति र विकासका लागि राज्यले लिने नीतिलाई राजनीति भनिन्छ। ब्यबसाय भनेको रोजगारी हो जसले जीवन निर्वाह गर्न र आर्थिक रूपले सम्पन्न हुन मद्दत गर्छ भन्ने बुझिन्छ तर राजनीति एउटा दर्शन हो जुन सिद्धान्तका आधारमा गरिन्छ र यसलाई देश जनताको सेवामा केन्द्रित गरिन्छ। नेपालको सन्दर्भलाई लिएर भन्ने हो भने नेपालको राजनीति देश वा जनताको विकासलाई भन्दा बाॅंच्न वा जीउनको लागि गरिएको ब्यबसाय हो भनेर भन्नु पर्ने हुन्छ ।यहाॅं को राजनीतिमा नैतिक, ईमान्दार र जनता उपर सेवाभाव राख्नेले मौका पाउने वातावरण छैन।

जसले पढाईलाई भन्दा हो हल्लालाई, तोडफोडलाई , संभार हैन संहारलाई ,बन्द हड्ताललाई महत्व दिन्छ उ विद्यार्थी नेता हुन्छ। राजनीतिक दलहरूले यस्तै बिद्यार्थीलाई प्रयोग गर्छन्। शिक्षाको गुण स्तर कसरी बढाउने? शिक्षाको पहुंच कसरी सर्वसाधारण सम्म पुर्याउने ?भन्ने विषयमा कलेजका विद्यार्थी नेताहरूले नीति निर्माता सम्म आफ्ना आवाज मुखरीत गर्नु पर्नेमा यिनीहरू राजनीतिक दलका मतियारका रूपमा मात्र प्रयोग भएर भोलीको राजनीति सुरक्षित गर्नमा ब्यस्त देखिन्छन् ।यसमा पनि मेधावी बिद्यार्थीहरू यस्ता गलत काम तिर नलागेर आफ्नो अध्ययनलाई निरन्तरता दिन सुरक्षित स्थानको खोजी तिर लाग्छन् र यिनीहरूको गन्तब्य विदेश हुन पुग्छ र सुरक्षित भविष्यको खोजीका लागि उतै पलायन हुनु पर्ने स्थिति मेधावी विद्यार्थीहरूको छ। यसरी नेपालको राजनीतिक क्षेत्रमा यस्ता कमजोर र कामचोर जनशक्तिको प्रवेश हुन पुग्छ र ईमान्दार र सिद्धान्तनिष्ठ भावि पिंढी राजनीतिबाट बिमुख हुने अबस्था देखा पर्दैछ।

त्यस्तै नेपालमा रोजगारीका क्षेत्रहरू पनि सीमित छन्। किनभने यहाॅं निजी क्षेत्र उन्नत र सहज नहुनाले रोजगारीको क्षेत्र सरकार मात्रैले वहन गर्नु पर्ने स्थितिमा छ। सरकारी क्षेत्र रोजगारीका हिसाबले साॅंघुरो छ।यसैले बेरोजगारी बढ्दो छ। यो वेरोजगारीको चाप राजनीतिक क्षेत्रमा परेको हुदा यो क्षेत्र सेवामुखी नभएर ब्यबसाय मुखी हुन पुगेको छ। झनै हालको संघीय ब्यबस्थामा त वडा सदस्य देखि वडा अध्यक्ष हुदै प्रदेश सम्म र समानुपातिक र समावेशीताका नाममा संसद सम्म धेरैका जोडी र प्रेमीहरूलाई हामीले पाल्नु पर्ने अबस्थाको सृजना भएको छ। त्यस्तै नेपालको राजनीतिको माध्यमको रूपमा रहेको निर्वाचन पद्दति आफैमा यति भड्किलो र खर्चिलो छ कि पैसा नहुने ब्यक्ति यसमा उम्मेद्वार हुनै सक्दैन।

किनभने राजनीतिक दलले सोझा, ईमान्दार र नैतिक उम्मेद्वारलाई भन्दा जसले धन खर्च गर्न सक्छ त्यस्तो लाई टिकट दिने गरेको पाईएको छ। यस्तो ब्यक्ति निर्वाचित भए पछि त्यसले राजनीति गर्ला कि ब्यबसाय, सोझै अड्कल गर्न सकिने विषय हो। कतिपय तस्कर, कालोबजारीले आफ्नो धनलाई सेतो बनाउन राजनीतिक दललाई प्रभावमा पारेर चुनावी प्रतिस्पर्धामा आउछन् र धन खर्च गरेर निर्वाचनलाई आफ्नो पक्षमा पार्न सफल पनि हुन्छन्। त्यस्तै कतिपय ब्यक्तिलाई विदेशी सूचना निकायहरूले किनेर चुनावमा प्रयोग गर्न पठाउछन्, यसरी चुनिएका प्रतिनिधिहरूले यताको राजनीति गरेर उतैको काम गर्छन्। फेरि चुनावको तथ्याॅंकको रूपमा प्रयोग हुने मतदाताहरूको आफ्नै कमी कमजोरी छ। कतिपय मतदाताहरू नेताको कुनै विश्लेषण र समीक्षा विना उ प्रति अन्धभक्त हुन्छन् भने कोही लोभलालचमा समेत पर्ने गर्छन्।

कुनै मतदाताहरू डर त्रास र धम्कीबाट प्रभावित हुन्छन् भने कतै खटिएका कर्मचारीहरू समेत बुथ क्याप्चरिंगका मतियार हुन पुग्छन्। यसरी जति मात्रामा स्वच्छ र निष्पक्ष चुनावको नारा लगाए पनि त्यहाॅं कुनै न कुनै प्रकारले धाॅंधली भै रहेकै हुन्छ मात्र प्रतिशतमा घटीबढी होला। नेपालमा भएका विगतका निर्वाचनहरू हेर्दा पनि राज्यपक्षबाटै समेत धाॅंधली गराएको २०३६ सालको जनमत संग्रह होस् या ब्यक्तिगत रूपले हेर्दा चर्चित हेम बहादुर मल्ल द्वारा गरिएको धाधली होस जुन सुकै निर्वाचनमा पनि राज्य, उम्मेद्वार, पार्टी ,चुनावमा खटिने कर्मचारी र स्वयं मतदाता समेत धाॅंधलीमा प्रयोग भएको पाईन्छ। यसरी बिभिन्न तौर तरीकाबाट राजनीतिमा प्रवेश गर्ने नेताले राजनीतिलाई कमाउने मध्यमको रूपमा लिएको हुनाले नेपाल र नेपालीको बिकासमा राजनीतिले उल्लेख्य भूमिका खेल्न सकेको पाईदैन। नेपालमा हाल देखिएको राजनीतिक परिदृश्यलाई केलाउदा पनि यही उदाहरण चरितार्थ भएको पाईन्छ।

अस्थिर राजनीतिले देश र जनताको विकास गर्न सकिएन राजनीतिक स्थायित्वका लागि भनेर २ वटा कम्युनिष्ट पार्टी मिलेर संसदमा करीव दुई तिहाई मत ल्याएर चुनाव जिते। संविधान मै २ वर्ष सम्म अविश्वासको मत ल्याउन पाईदैन भनेर लेखेको हुदा उनीहरू चुपचाप बसे।ओली पक्षबाट भएको नातावाद कृपावाद र राजनीतिलाई ब्यबसायिक थलोको रूपमा प्रयोग भै रहेको दृश्य सत्तारूढ दलले झिनो स्वरमा विमती राख्दै आईरहेको सन्दर्भमा प्रतिपक्षमा रहेको नेपाली काॅंग्रेसको संसदमा कमजोर उपस्थिति भएको हुदा प्रतिपक्षको भूमिका समेत सत्ता पक्षकै साॅंसदले खेल्न थाले र २ वर्ष पुग्दा नपुग्दै आंफै आंफै बीच सत्ता र कुर्सिको लागि झगडा शुरू गर्न थाले। देश कोरोना कहरबाट सिकिस्त हुदा पनि त्यस तर्फ सोच्ने फुर्शद सम्म भएन सरकार र सत्तारूढ दललाई। आफू र आफ्नालाई राज्यका विभिन्न पदको मागमा सीमित नराखेर सत्तारूढ दल सरकार प्रमुख को कुर्सी नै ताक्न पट्टी लागे ।

यस्तो वाध्यात्मक परिस्थिति देखा परेपछि प्रधान मन्त्रीले पनि संबैधानिक प्राबधानलाई समेत ख्याल नगरी प्रतिनिधि सभा नै भंग गरिदिए। अहिले नेपालमा राजनीतिक अन्यौलता छाएको छ, सडक आन्दोलित भएको छ। यो सबै राजनीतिलाई कमाउने माध्यमको रूपमा प्रयोग गर्न नपाउदाको परिणाम हो भन्न हिच्किचाउनु पर्दैन। नेपालको राजनीतिक क्षेत्रमा देखिएको यो विषाक्त परिस्थितिलाई सुधार नगरे सम्म नेपालमा स्थिरता कायम हुदैन र यस किसिमको अस्थिरता विदेशी तत्वहरूको लागि अनुकूल हुन्छ जुन परिणति हामीले वर्षौ देखि भोग्दै आएका छौ।यो परिस्थितिबाट मुक्ति पाउन त्यति सजिलो छैन तर असम्भव पनि छैन। यसको निम्ति हामीले नेपालमा गरिने राजनीतिको मुहानमा देखिएको प्रदूषण सफा गरेर निर्वाचन प्रणालीलाई ब्यबस्थित गर्न नसके सम्म नेपालको राजनीति ब्यबसाय कै रूपमा चल्ने छ यसले नेपाल र नेपालीको विकास गर्न सक्ने छैन।

Loading spinner