बढुवापछि अतिरिक्तबाटै बिदा, जिम्मेवारी नदिने भए किन गरियो सचिवमा बढुवा ?

khabarwave
१९ भाद्र २०७७

काठमाडौं । निजामती प्रशासनलाई पंगु बनाउन दुई तिहाईको  सरकार कसरी उद्दत छ भन्ने कुरा एकजना सचिवले जिम्मेवारी नपाईकनै अवकाश पाएको घटनाले पुष्टि गर्दछ । सुशासनको नारा दिँदै प्रशासनिक संयन्त्रलाई बलियो बनाएको र राजनीतिक हस्तक्षेप नगरेको बताउने सरकारले बढुवा भएका सचिवलाई अतिरिक्तमै राखेर अवकाश दिनुले सरकारको गैर जिम्मेवारपनलाई उदांगो बनाएको छ । राजनीतिक हस्तक्षेप गरेरै सचिव पदमा बढुवा गरिएका बीरबहादुर राईलाई सरकारले बढुवा लगत्तै अतिरिक्त समूहमा पदस्थापना गर्यो । साउन १९ गते सोमबार तेस्रो नम्बरमा रहेका सहसचिव राईलाई मन्त्रिपरिषद्ले बढुवा गरेको थियो ।

पूर्व सचिव प्रेम राईको कृपा पाएपछि तेस्रो नम्बरमा भएर पनि सिनियर दुई जना सहसचिवलाई पछार्दै सचिव पदमा बढुवा त भए तर जिम्मेवारी लिन सकेनन् । पहिलो नम्बरका चन्द्रमान श्रेष्ठ र दोस्रो नम्बरका गोकर्णमणि दुवाडीलाई पछि पार्दै बढुवामा परेका राईलाई सरकारले सचिव पदमा बढुवा गर्न कम्मर कसेर लाग्यो तर पद रिक्त हुँदाहुँदै पनि जिम्मेवारी दिन उपयुक्त ठानेन । सचिवमा बढुवा हुन योग्य देखेको सरकारका लागि जिम्मेवारीमा भने योग्य नदेखिनुलाई प्रशासन क्षेत्रका विज्ञहरुले समेत आश्चर्यका रुपमा हेरेका छन् ।

सचिव बढुवामै प्रोटोकल मिचेर बढुवा गरिएका राईलाई जिम्मेवारी नदिनु र २७ दिने कार्यकाल अवधिभर सचिवको हैसियतले कुनै जिम्मेवारी नपाउनु तथा कुनै फाइलमा हस्ताक्षरै नगरी बिदा हुनु राईका लागि सचिव पद राजनीतिक नियुक्ति खाने र पेन्सन बढाउने माध्यम मात्रै बन्न पुगेको छ । भदौ १५ गते अवकाश पाएका राई बढुवा हुँदा तीनवटा निकायमा सचिव पद रिक्त थियो । ती रिक्त दरबन्दीमा राईको अवकाश हुँदासम्म पनि पदपूर्ति भएको छैन । केन्द्रीय सरकारको बक्र दृष्टिमा रहेको कर्णाली प्रदेशमा प्रमुख सचिव पद रिक्त छ । केन्द्रमा शिक्षा, विज्ञान प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रिक्त भएको ६ महिना पुग्न लागिसकेको छ ।

शिक्षा सचिवबाट अवकाश पाएका महेश्वर दाहालले अवकाश पाई केही महिनाको आरामपछि उनै दाहाललाई सरकारले राजश्व बोर्डको अध्यक्षको जिम्मेवारी दियो तर उनले अवकाश पाएपछि रिक्त भएको मन्त्रालयमा भने कुनै पनि सचिवलाई पठाउन सरकारले योग्य देखेको छैन । मन्त्रालय र निकायहरु रिक्त राखेर बढुवा गरिएका सचिव राईलाई अतिरिक्तमा थन्क्याउँदै त्यतैबाट बिदा गर्नुले निजामती प्रशासनभित्रको बेथितिलाई उजागर गरेको छ । सम्भवतः नेपालको प्रशासनिक इतिहासमै पहिलो पटक एकजना व्यक्ति सचिव पदमा बढुवा भएर जिम्मेवारी नपाई अतिरिक्तबाटै बिदा हुन बाध्य बनाइएका छन् ।

Loading spinner