बज्राचार्यले सम्हाले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत
काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भाद्र १ गते, सोमबारदेखि आफ्नो पदभार ग्रहण गरेका छन् । बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले आफ्नो पदभार ग्रहण गरेका हुन् । पदभार गर्नुअघि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पद तथा गोपनियताको सपथ गराएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले अहिलेको बैंकिङ्ग क्षेत्रको चुनौतिलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने नेतृत्व पाएको बताए ।
कार्यक्रममा बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई बनेको देशकै ठूलो बैंकको नेतृत्व गर्न पाउनु आफूलाई चुनौति र अवसर दुवै रहेको बताएका छन् । उनले बैंकलाई थप मजबुत बनाउँदै बैंकको सेवालाई सरल र सहज बनाउने चुनौति आफ्नो सामु रहेको बताए । बैंकको सञ्चालक समितिको २०७७ श्रावण ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसक्नु भएको छ ।
नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ ।वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन् ।