
प्रधानमन्त्री ,पूर्वसभामुख र ४ पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले भन्याे- ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्नू
काठमाडौं । प्रधानमन्त्री केपी (खड्गप्रसाद) शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको छ ।
बिहिबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
यसैगरी बिहीबार न्यायाधीश मनोजकुमार शर्माकै इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानासँग लिखित जवाफ माग गरेको छ । एकल इजलासले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख ढुंगानालाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न भनेको हो ।-पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै अवहेलनाको मुद्दा दर्ता गराएका थिए । त्यस्तै पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दर्ता गरेका थिए ।
४ पूर्वप्रधानन्यायाधीशले संसद विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।