प्रचण्डले हार स्वीकारे

khabarwave
१० मंसिर २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अपेक्षा गरे अनुसार चुनावी परिणाम नआएको बताएका छन्। विजयी उम्मेदवारलाई बधाइ तथा शुभकामना दिन शुक्रबार गोरखामा आयोजित सभामा प्रचण्डले देशभरको चुनावी परिणाम अपेक्षाअनुसार नआएको बताएका हुन्। ‘अपेक्षाअनुसार नतिजा आएन। जस्तो परिणामको अपेक्षा थियो त्यो भएन। गठबन्धन दलहरूले केही गृहकार्य गर्नुपर्ने देखिएको छ। काठमाडौं गएपछि गठबन्धनको बैठक बस्नुपर्छ, प्रचण्डले भने। निर्वाचन परिणामलाई उनले नसोचेको कुरा भएको बताए। उनले भने, हाम्रो अपेक्षाअनुसारको नतिजा आएन। नसोचेको कुरा भयो। प्रदेस र स्थानीय तहसम्म पुगेको सिंहदरबारको अधिकारलाई यो निर्वाचनबाट उल्टाउने चेस्टा भएको प्रचण्डको भनाइ थियो। सिंहदरबारको अधिकार प्रदेस र स्थानीय तहमा पुगेको थियो। तर, यो निर्वाचनबाट उल्टाउने चेस्टा गरेको देखियो, उनले भने। प्रचण्डले राजनीतिक दलहरूले आत्मसमीक्षा गर्न जरूरी रहेको पनि उल्लेख गरेका छन्। उनले भने, अहिले नै सबै बर्बाद भयो भन्ने केही पनि छैन। राजनीतिक दलहरूले गम्भीररूपमा आत्मसमीक्षा गर्नुपर्ने देखियो। जनताको निम्ति समर्पित हुने नीति तथा कार्यक्रम ल्याएनौं भने देश भूमरीमा पर्नसक्छ।

Loading spinner