प्रचण्डलाइ साक्षी राखेर बालुवाटारमा तीन घण्टा आयुर्वेदका बिज्ञहरूसँग प्रधानमन्त्री परामर्शमा

khabarwave
२६ भाद्र २०७७

काठमाण्डाै ।    प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने स्पष्ट गर्नुभएको छ । बिहिबार राती  तीन घण्टा सम्म आयुर्वेदका बिज्ञहरू सँग छलफलमा बिताएका प्रधानमन्त्रीले कोभिड- १९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति   आयुर्वेदभित्रै योगा पनि पर्ने बताउनु भयो । उहाँले भन्नुभयो – आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो ।
उहाँले मेशीनहरू एलोपेथिक नभएको प्रष्ट पार्नुहुँदै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिनुभएकाे प्रधानमन्त्रीकाे सचिबालयले जानकारी दिएकाे छ।
आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष राखिएको उल्लेख गर्नुभयो ।
निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको धारणाका साथ प्रधानमन्त्रीले पटकपटक स्मरण गर्नुभयो -हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका बताउनुभयो ।
कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाउन र यसको प्रयोगलाई बढाउन समेत सबैको ध्यानाकर्षण गराउनुभयो ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड का साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिनुभएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसको व्यापक प्रचारप्रसार गर्न पनि जोड दिनुभयो ।
उक्त अवसरमा आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय,  सिंहदरबार बैद्यखानाका प्रबन्धनिर्देशक डा. बंशदिप खरेल, डा.विकाश  घिमिरे  डा ऋषिराम कोइराला, डा प्रदीप केसी, विनोद पौडेल, डा. रामआधार यादव, डा. सन्तोष कुमार ठाकुर, प्राडा.  डीबी रोका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा.धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राख्नुहुँदै प्रधानमन्त्रीको तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलोपटक परामर्श गरिएकोमा विशेष आभार र धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
पार्टीका अर्का अध्यक्ष प्रचण्डले यस कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराउनुभएकोमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गंभीर ढंगले घच्घच्याउने काम गरेको अनुभूति राख्नुभयो ।

Loading spinner