पहिरोले पुरिदा २ जनाको मृत्यु , १३ जना बेपत्ता ,नारायणी र तिनाउ नदीमा बाढीले खतराको तह नाघेपछि सुरक्षित रहन आग्रह

khabarwave
८ आश्विन २०७७

काठमाडौं । अबिरल बर्षाका कारण   स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ ।स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।

यसैगरी पाल्पाको रम्भा गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।

यसैबीच नारायणी र तिनाउ नदीमा बाढीले खतराको तह पार गरेकाले  तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने खतरा भएकाले  दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

तिनाउ नदीमा ५।२ मिटरसम्म सतर्कताको तह र ५।६ मिटरसम्म खतराको तह मानिन्छ ।  बिहान साढे ७ बजेसम्मको रेकर्डअनुसार तिनाउको जलसतह ५।७१ मिटर पुगेको छ । देशभर नै निरन्तर वर्षा भइरहेकाले देशका अधिकांश नदी तथा खोलाहरुमा बाढी आएको छ । यसअघि नै बाढी सूचना केन्द्रले बाढी आउने पूर्वानुमान गर्दै ११ गतेसम्म तटीय क्षेत्रमा नजान आग्रह गरेको थियो ।

Loading spinner