पर्यटन ब्यबसायमा पर्यटकको भूमिका

khabarwave
२८ आश्विन २०७८

दशैको पूर्व सन्ध्यामा मेरो सानो छोराले दक्षिण क्यारोलाईनाको मार्टल बीचलाई तीन दिन दुई रातको लागि पर्यटकीय गन्तब्यको रूपमा छनौट गरेछ। काममा ब्यस्त हुने ब्यक्तिलाई ताजगीपन दिन यस्ता कार्यक्रमले सहयोग गर्ने हुदा अमेरिका तिर बेलाबेलामा क्याम्पिंग जाने, भ्रमणमा जाने जस्ता कार्यक्रम भै रहन्छन्। दशैमा भेटघाट पनि हुने, २/४ दिनको यस्तो भ्रमणले ताजगीपन ल्याउने हुदा छोराले राखेको उक्त कार्यक्रममा मेरो पनि सहभागिता रह्यो।

एटलान्टिक ओसनको किनारामा रहेको मार्टल बीचको नामले चिनिने यस स्थानमा पर्यटकहरू यति खचाखच हुने रहेछन् कि यहा रिसोर्ट पाउन २/३ हप्ता लाईन मै बस्नु पर्ने रहेछ। यहां आउने पर्यटकलाई ब्यस्त बनाउन बिभिन्न किसिमका गतिविधीहरू सन्चालन गरिने रहेछ। पर्यटकहरूको लागि सन्चालन गरिने गतिविधीहरूको गुणस्तरीयता, मनोरन्जनात्मकता, सहजता आदिका कारण यहां वर्षेनी पर्यटकहरूको भीड लाग्ने रहेछ। यो आलेखको उद्देश्य यो पर्यटकीय स्थल र यहां उपलब्ध हुने गतिविधिको ब्याख्या गर्ने भन्दा पर्यटन कसरी उद्यमको रूपमा जान सक्दो रहेछ र नेपाललाई पर्यटकीय महत्वको देश भनिरहदा यसबाट कसरी बढी भन्दा बढी फाईदा लिन सकिएला भन्ने तर्फ लेखलाई केन्द्रित गर्ने सानो प्रयास गरिएको मात्रै हो। नेपालको आर्थिक विकासमा पर्यटनले दोश्रो स्थान लिएको छ। तेन्जिंग शेर्पाले सगरमाथा चिनाए पछि १९५०/५१ देखि नेपाल पर्यटकीय गन्तब्यको रूपमा पर्दै आएको छ। नेपालको प्राकृतिक स्वरूप, हावापानी र वनस्पति पर्यटनका वरदान हुन् र यसमा नेपालको कला, संस्कृति र पाहुनालाई देवताको रूप मान्ने नेपाली संस्कार यसका गहना हुन्।

यसैले अहिले आएर नेपालमा पर्यटन, ब्यबसायको रूपमा विकसित हुदै गएको छ। पर्यटकले खर्च गर्ने मुद्रा नेपाल र नेपालीको आय बनेको छ।भौगोलिक विकटताका कारण विश्व संग पछि जोडिन पुगेको नेपाल संग भएका विविध क्षमताले अनुकूलता प्राप्त गरेमा पर्यटन ब्यबसायले अन्य ब्यबसायलाई उछिनेर प्रथम श्रेणीमा पुग्न सम्भव देखिन्छ।अन्य उद्योग धन्दालाई जस्तो खर्चिलो यातायात, कच्चा पदार्थ, पूजी, बजार, श्रम जस्ता तत्वहरू नचाहिने यो ब्यबसाय सरकार र निजी क्षेत्रको सामान्य लगानी मै सन्चालन गर्न सकिन्छ। पर्यटकहरूले आफ्नो ब्यस्त जीवनलाई मनोरन्जनात्मक र रोचक बनाउन यस्ता गन्तब्यहरूको खोजी गरिरहेका हुन्छन्।यस्ता गन्तब्यहरू जति सहज हुन्छन् र जति गुण स्तरीय हुन्छन् त्यति नै पर्यटकहरूको दृष्टिमा पर्न सक्छन्।

अहिलेको विज्ञान र प्रविधिको यूगमा विश्व त्यति टाढा छैन तर यो प्रतिस्पर्धी भने अवश्य छ। यो ब्यबसायलाई पनि अन्य पेशा र ब्यबसाय जस्तै विज्ञान र प्रविधीको प्रयोगबाट सहज र ब्यापक बनाउन सकिन्छ। अन्य ब्यबसाय जस्तै यो ब्यबसायमा पनि सेवाग्राहीको सन्तुष्टी नै कारक तत्व मानिन्छ । ग्राहकको रूची र आवश्कतालाई केन्द्रित गरेर हाम्रो सेवा पस्किन सक्यौ भने देश र जनताको आय स्तर बढाउन यो ब्यबसाय हाम्रो जस्तो मुलुकको लागि अपरिहार्य हुन पुग्छ।

हाम्रो अध्यागमन प्रणाली सहज र छरितो बनाईदिने, वातावरणीय पद मार्गको निर्माण र संरक्षण गरिदिने, सुरक्षित र स्वच्छ वसोवास र खानपिनको ब्यबस्था गरिदिने, नेपालको कला र संस्कृतिलाई पर्यटक संग जोडी दिने, संचारका साधनहरूलाई पर्यटकको पहुचमा लगिदिने, सेवाग्राहीलाई केन्द्रित गरेर सेवा दिने हो भने पर्यटकको बढ्दो प्रवाहलाई हाम्रो देशमा केन्द्रित गर्न सकिन्छ। यसको लागि संभावित हरेक स्थानमा पर्यटन संग संबन्धित निकाय निर्माण गरेर सो निकाय संग सरकारले सहकार्य गर्न सक्नु पर्छ।

सो निकाय संगको सहयोगमा सो ठाउमा के कस्तो संरचना बनाएमा पर्यटन ब्यबसाय सहज हुन जान्छ र सो निकाय र स्थानलाई कसरी पर्यटकीय सन्जाल संजाल संग जोडेर लग्न सकिन्छ भन्ने तर्फ नीति निर्माताको ध्यान जानु पर्ने देखिन्छ। नेपालमा पैताला राखे पछि पर्यटक नफर्किने बेला सम्मका हरेक मिनेटलाई फलदायी बनाउन निजलाई शत प्रतिशत सन्तुष्ठी दिन सक्नु पर्छ। उसको खानपिन, सुरक्षा, मनोरन्जन ,उसको रूची, उसको स्वास्थ्य सबै कुरामा ध्यान पुर्याएर उसको बसाईलाई सन्तुष्ठ तुल्याउन सकेमा मात्र हामी सफल हुन सक्छौ।हाम्रा हरेक गतिविधी र कृयाकलाप सेवाग्राहीलाई केन्द्रित गरेर सन्चालन गर्न सक्नु पर्छ। सके सम्म उनीहरूको वसाई लामो बनाउन सक्नु पर्छ। सेवाग्राहीले सेवा लिएवापत तिर्नु पर्ने शुल्कलाई पारदर्शी र सांखिकीय (Digital) बनाउनु पर्छ।

हामीले भर पर्दा पथ प्रदर्शक र दोभाषेहरूको उत्पादन गर्न सक्नु पर्छ । त्यसै गरी पर्यटक र पर्यटनको सहयोग र विकासका लागि निजी क्षेत्रको सहयोग र समन्वयमा सरकारले आफ्ना संरचनाहरूको विकास गर्दै लग्नु पर्ने देखिन्छ । हामीले हाम्रा सेवा ग्राहीबाट हाम्रो सेवामा भएका कमी कमजोरी औंल्याउन लगाएर तिनको सुधार गर्नु पर्छ। हाम्रा हरेक काम र ब्यबसायको सफलता हाम्रा सेवाग्राहीले निर्धारण गर्ने हुदा उनीहरूको रूची र चाहनालाई सम्मान गर्न सके मात्र हामी सफल हुन सक्ने कुरा समेत सदैव मनन गरेर हामी अगाडि बढ्नु पर्ने देखिन्छ।

Loading spinner