परदेशमा नेपाली पहिचानका व्यवसाय
परदेशिनु नेपालीहरूको बाध्यता हो। आफ्नो देशमा आफ्ना परिवार संग बसेर रमाईलो गर्ने रहर कसलाई हुदैन र! अरू केही गर्न नसके पनि के गर्ने पापी पेटलाई पाल्नै पर्यो, परिवारहरूको पालन पोषण, शिक्षा दीक्षा गर्नै पर्यो, औषधी मूलो गर्नै पर्यो ,सामाजिक परम्परा र संस्कृति धान्नै पर्यो। यी र यस्ता ब्यबहार चलाउन केही न केही काम धन्दा गर्नै पर्यो तर बिडम्बना आफ्नो जन्मभूमिमा केही ईलम धन्दा गर्ने उपाय नभएका कारण रोजगारी खोज्ने क्रममा अधिकांश युवाहरू विदेशिन बाध्य छन्। बिदेश जहां आफ्नो जानपहिचान कोही हुदैन, सर सहयोग कसैबाट पाईदैन, आफू मात्र हैन सबैको हालत यही हो। यस्तो अबस्थामा बिहान बेलुका हातमुख जोड्न र बास बस्नको लागि केही न केही उपाय त गर्नै पर्यो। सबै कामदार दक्ष नै हुन्छन् भन्ने हुदैन। कोही अर्ध दक्ष, कोही अदक्ष पनि हुन्छन्।
दक्ष र अर्ध दक्षलाई सजिलो काम पाउन त्यति गार्हो हुदैन तर अदक्ष कामदारलाई भने राम्रो काम र राम्रो ज्याला प्राप्त हुदैन। तर जे भए पनि नेपालमा जस्तो बेरोजगार भएर बस्नु पर्ने अबस्था विदेशमा हुदैन। वर्मा गए कर्म संगै भन्ने नेपाली उखानलाई चरीतार्थ गर्दै नेपालीहरू विदेशमा रहेबसे पनि नेपालका चाडपर्व, वेशभूषा, खानपान, कलासंस्कृति लाई जीवन्त राख्न चाहन्छन्। यो जीवनलाई अरूले जीवन्तता दिने हैन, आफैले नै दिने हो। त्यसैले जुनसुकै देशबाट आएका विदेशी भए पनि सबैलाई आफ्नो परम्परा, संस्कृतिमा गर्व हुन्छ र सबैले संरक्षण गर्न चाहन्छन्। त्यो चाहना नेपालीहरूमा पनि हुदो रहेछ।
त्यसैले केही जागरिला र अनुभवी नेपालीहरूले विदेशमा समेत आफ्नो देशको स्वाद र रूची पस्किने प्रयास गरेको पाईन्छ।विदेशमा रहे वसे पनि, परिवार ईष्टमित्र बाट टाढा रहेको भए पनि आफूले मनाउने चाडपर्व र संस्कृति सबै नेपाली एक भएर मनाउने परम्परा विदेशमा बसी सकेको छ। सबै नेपाली एक भएर सुखदु:ख बाड्ने, नेपालको संस्कृति बचाउने अभियानमा अहिले नेपालीहरू लागेका छन्। नेपालीहरूले विदेशमा खाने पिजा र वर्गर वाध्यताका खाना हुन् तर नेपालीको रहर र स्वाद गुन्द्रुक र ढिडोमै हुन्छ। त्यसैगरी गुन्यू र चोलीमा सजिएकी चेली र दौरा,सुरूवाल र टोपीमा ठाटिएर हिडेको नेपालीको पहिरन उसले बोक्ने राहदानीको पर्याय हुन सक्छ।
त्यसैले नेपाली स्वादका गुन्दुक, मस्यौरा, अकवरे खुर्सानी,सागको सुकुटी, चुल्ठे कर्कलो, मूलाको सुकुटी आदि नेपालीको भान्छामा पुर्याउन केही चेलीवेटीहरू लागेका छन्। त्यसैगरी तिहार, दशैमा सेलरोटी बनाउने, तिहारमा मखमली, सयपत्री फूलको माला बेच्ने गरेर मौसमी ब्यबसाय पनि नेपालीहरूले गरेको पाईन्छ। विदेशका कतिपय ठाउमा नेपाली स्वाद कै होटल र रेष्टुरां खोलेर, नेपाली कला र संस्कृति पस्केर विदेशिएका नेपालीहरूलाई आफ्नो जन्मठाऊको झ-झल्को मेटाउने काम गरेका छन् नेपालीहरूले। त्यसै गरी नेपाली पहिरन र गहनाहरू समेतको ब्यापार गरेर नेपाली पहिचानलाई जीवन्तता दिन सफल भएका छन् खासगरी नेपाली महिला।
त्यसै गरी संसारको उच्च शिर सगरमाथाका पोस्टरहरू, शान्तिका दूत गौतम वुद्धको जन्मस्थल लुम्बिनीका तस्वीरहरू विदेशका कुनाकुनामा पुर्याएर नेपाल र नेपालीको पहिचानलाई चिनाउन सक्षम भएका छन् नेपालीहरू। नेपालका पहाड, नदीनाला, झरना र छहराहरू चित्रमा समेटेर विदेशीहरूलाई नेपालको निम्तो दिईरहेका छन् नेपालीहरू। नेपालको खानाका परिकार र स्वाद नेपालीको मात्र हैन विदेशीको जिब्रोमा समेत चखाएर नेपाल आउने निम्तो दिएका छन् विदेशमा रहेका नेपालीहरूले। यसरी नेपालीहरूले विदेशमा बसेर आफ्नो ब्यबसायमा नेपाली स्वाद र पहिरनलाई समेटेका मात्र छैनन् कि नेपालको प्रकृति, संस्कृति, रहनसहन, वेशभूषा समेत विश्वमा फैलाउने काम गरेका छन्। विदेशमा नेपाली स्वाद भित्र्याउनु निश्चय पनि सजिलो भने छैन।
नेपालका कुनाकाप्चा देखिका सामान अन्तर्राष्ट्रिय यातायातका सधनको उपयोग गरेर नेपालीका भान्छा र पहिरनमा पुर्याउन करीब चौवीसै घण्टा खट्नु पर्ने हुन्छ। यसरी विदेशको सामान भित्र्याउदा पूरा गर्नु पर्ने औपचारिकताको कथा छुट्टै छ, त्यसमाथि आउने सामानको गुणस्तर, ढुवानीमा पर्ने असुविधा, दुई पक्ष बीचको विश्वासको शंकट, भुक्तानीमा पर्ने कठिन्याई आदि समस्याले पनि ब्यबसायमा असजिलो हुने गरेको पाईन्छ। यसरी विभिन्न समस्या र झन्झटका बाबजुद पनि नेपाली स्वाद र शैलीलाई विदेशमा समेत पस्केर नेपाल बिर्साउन कोशिस गर्ने उद्यमी, ब्याबसायीलाई धन्यवाद नदिईरहन सकिदैन।