नेपाल र भारतबीच विद्युत् सम्बन्धि सम्झाैता
काठमाण्डाै । नेपाल र भारतबीच स्वीकृतिभन्दा विद्युत् आदानप्रदान थपघट हुँदाको अवस्थामा बस्दोबस्त सेटलमेन्ट गर्नका लागि सम्झौता भएको छ । विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र एनभीभीएनका बरिष्ठ महाप्रबन्धक कृष्ण शंखर बन्दोपाध्यायबीच भएको सम्झौता अनुसार स्वीकृतभन्दा विद्युत् घटीबढी ल्याएमा त्यसको विद्युत् दर तोक्ने काम भारतको केन्द्रीय विद्युत् नियमन आयोगले गरे बमोजिम हुनेछ ।
नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएन बीच व्यापार घटबढ अर्थात फरक परिमाण डेभियसनको बस्दोबस्त गर्न सम्झौता भएको हो । नेपाल, वंगलादेश, भुटान र म्यानमारका लागि विद्युत् व्यापार घटबढको अवस्थामा बस्दोबस्त गर्नका लागि सम्झौता गर्नुपर्ने भए पनि नेपालले चार देशमध्ये पहिलोपटक सम्झौता गरेको हो ।भारत सरकारले बन्दोबस्तका लागि नोडल एजेन्सीको रुपमा एनभीभीएनलाई तोकेको छ ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट एनभीभीएनसँग तथा टनकपुरबाट पीटीसीमार्फत विद्युत् खरिद गर्दै आएको छ ।