नेपालमा बाह्य शक्तिको रूची
नेपालको राजनीतिक परिवर्तनमा बाह्य देश वा समुदायको चासो निरन्तर रूपमा रहदै आएको ईतिहाॅंस छ। चाहे राणा शासनको पतनमा होस वा प्रजातन्त्रको अपहरण गरी पंचायती शासन ल्याउनमा होस् चाहे २०३६ वा २०४६ को परिवर्तनमा होस् वा ०६२/६३ को आन्दोलनमा होस् हरेक आन्दोलनमा बाह्य शक्तिको भूमिका निर्णायक रहने गरेको पाईन्छ। यसरी भएका परिवर्तनहरु नेपाल र नेपालीका हितमा नभएर परिवर्तन जसले गराएको हो उसैको हितमा हुने गरेका छन् र यी र यस्ता परिवर्तनहरूको उपादेयता त्यस बेला सम्म हुने गर्छ जव सम्म परिवर्तनकारी शक्ति सन्तुष्ठ हुने गर्छ। उसको उपादेयताको अन्त्य संगै पुन: अर्को परिवर्तनको थालनी हुने गरेको पाईन्छ।यसरी अरूको ईशारामा हुने गरेका परिवर्तनले नेपालमा अस्थिरता ल्याएका हुन्। नेपालमा गरिने राजनीतिक परिवर्तनहरू जब सम्म नेपाल र नेपालीको नियन्त्रणमा नभएर बाह्य शक्तिको नियन्त्रणमा हुने गर्छन् तब सम्म नेपालमा राजनीतिक स्थायित्व नहुने रहेछ भन्ने तथ्य बर्तमान सरकारको पतनले पुष्ट्याई गरेको छ। २०४६/४७ यता भएका निर्वाचनहरूमा एकाध निर्वाचन बाहेक एउटै दलले स्पष्ट बहुमत पाएको अबस्था छैन।
झन् वर्तमान सम्बिधानमा भएको समानुपातिक एवं समावेशी प्रावधानले त यो सम्भावनालाई झनै न्यून बनाएको भएता पनि यस सम्विधान बमोजिम भएको पहिलो निर्वाचनमा बहुमतको सरकार बनाएर नेपालमा राजनीतिक स्थिरता दिने नाममा एक बनाईएका एमाले र माओवादीले झण्डै दुई तिहाई मत ल्याएर संसदमा सरकार पनि बनाए । तर यसरी बनेको संसद र सरकारले सम्बन्धित बाह्य शक्तिको अभिरूची पूरा गर्न नसकेकोले यसका पात्रहरू बीच बिग्रह ल्याई दियो र ५ वर्षका निम्ति बनेको नेकपा को सरकारले ३ वर्ष मै प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनमा गयो। यसको पूर्ण बिराम कहाॅं गएर हुने हो वा त्यो शक्तिले नेपालको राजनीतिलाई कता पुर्याउने हो टुंगो छैन।
नेपालको भौगोलिक अबस्थिति बिदेशी शक्तिको छनौटमा परेकोले पनि यसलाई खेल मैदानको रूपमा प्रयोग गर्न रूचाउछन् विदेशी शक्तीहरू ।नेपालको राजनीतिलाई अस्थीर बनाउन चलायमान हुने बाह्य शक्तिमा निम्न शक्तिहरू छन् जसले आफ्नो स्वार्थ अनुसार नेपाललाई प्रयोग गर्छन्।
(१) भारत:- भारतले बृटिश साम्राज्यको पाला देखि नै नेपालको अवस्थितिलाई सामरिक महत्वको रूपमा हेरेको पाईन्छ। नेपालका प्राकृतिक श्रोत खासगरी जलश्रोतलाई आफ्नो पकडमा राखेर आफ्नो देशको हितमा लगानी गर्न चाहन्छ भारत। जवरलाल नेहरू भन्दा अगाडि देखि नै पटेल डक्टरिनबाट नेपाललाई हेर्ने गरेको भारतले नेपालको परराष्ट्र र रक्षा नीतिलाई आफू मातहत राख्न चाहन्छ। त्यसैले नेपालमा अस्थिरताको निरन्तरता होस् भन्ने चाह भारतको रही आएको छ। आफ्नो स्वार्थलाई सहयोग गर्ने पात्रको छनौटमा नेपालको राजनीति निर्भर गरोस् भन्ने चाहना भारतको रही आएको कारणले भारतले नेपालमा राजनीतिक स्थिरता चाहदैन।
(२) चीन:- चीनको मुख्य उद्देश्य चीन बिरोधी गतिविधि नेपालमा हुन नपाओस् र नेपालले सदैव एक चीन नीति लाई मान्यता दियोस् भन्ने नै हो। तर अहिले आएर चीन विश्वमा आर्थिक विकासमा पहिलो हुने अपेक्षाका साथ अगाडि बढी रहेको सन्दर्भमा नेपाल उपर मात्रै नभएर विश्व मै उसको भूमिका विगत भन्दा केही फरक भएको पाईन्छ।उसका आर्थिक गतिबिधि निर्बाध रूपले अगाडि बढुन् र सोही बमोजिम नेपाल सरकारको सहयोग होस् भन्ने चाहना चीनको रहेको पाईन्छ। त्यति मात्र हैन चीनको बढ्दो सामरिक प्रभावलाई रोक्न बिश्वको कुनै शक्ति सामरिक तवरबाट समेत नेपालमा उपस्थित नहोस् भन्ने चाहना चीनको रहेको पाईन्छ। यति मात्र हैन अहिले नेपालमा कम्युनिष्ट नामका पार्टीले सरकार बनाएको र यो सरकारलाई आफ्नो पार्टीको भगिनी संगठनको रूपमा देख्ने चाहनाले पनि नेपालमा चीनको अभिरूची ह्वात्तै बढेको पाईन्छ।
(३) यूरोपियन तथा पश्चिमा समूह:- यस समूहमा अहिले सम्म यूरोपियन युनियन र संयुक्त राज्य अमेरिका दुई शक्ति मात्र रही आएकोमा ईयुबाट बेलायत पृथक भए पछि बेलायतले समेत नेपालको राजनीतिमा चासो राखेर आफूलाई पश्चिमाको तेश्रो शक्तिमा उभ्याउन खोज्दै छ। चीनले बिश्वमा देखाउदै लगेको सामरिक प्रभावलाई नियन्त्रण गर्न र पूर्वी एशियामा आफ्नो उपस्थितिलाई कायम राख्न संयुक्त राज्य अमेरिकाको चासो नेपालमा रहेको विषय कतै छिपेको छैन। अमेरिकाको यो रूचीले कताकता भारतको परम्परागत डक्ट्रिन धुमिल हुदै गएको छ र अमेरिका यो मानेमा नेपालको भौगोलिक अवस्थितिको स्थायित्व चाहन्छ। तर पनि अमेरिकाले नेपाललाई सोझै आफ्नो आंखाबाट नहेरेर भारतीय आंखाबाट हेर्ने गरेको पाईन्छ।
त्यसैले नेपालको सरकारको बनौट उसको रूची भन्दा फरक नहोस भन्ने चाहना पनि राख्छ। नेपालमा कार्यान्यनका प्रतीक्षामा रहेका एम.सी.सी. परियोजना र बी. आर. आई. बाट क्रमश: अमेरिका र चीनले नेपाललाई थप अस्थीर बनाउन लागेको प्रतीत हुन्छ।यसरी विदेशी शक्तिहरूले विभिन्न निहुॅंमा नेपालको आन्तरिक मामलामा चासो राखेको पाईन्छ। नेपालमा भएको धार्मिक सपेक्षतालाई हटाएर धार्मिक निरपेक्षता कायम राख्न सफल युरोपियनहरू धार्मिक स्वतन्त्रताको नाममा क्रिश्चियानिटी बढाउन लागी परेका छन्। होलीवाईनको माध्यमबाट नेपालको बर्तमान सरकार समेतलाई प्रयोग गरेर धार्मिक साम्राज्य फैलाउन सफल यिनीहरूको नेपाल प्रवेश गर्दा आईएनजिओलाई माध्यम बनाएका थिए।
बेलायत २०२१ को जनवरी १ बाट ईयुबाट बाहिरिए संगै संबैधानिक राजतन्त्र सहितको संसदीय प्रणालीलाई पुन: कायम गराउन आरम्भ गर्दै गरेको प्रयासका छनकहरू नेपालमा हाल हुदै गरेको सडक आन्दोलन संग जोडेर हेर्न थालिएको छ। नेपाललाई दुई ढुंगाको तरूलको रूपमा मानिदै आएको ईतिहाॅंस र बिश्वले हेर्ने गरेको Buffer State को अवधारणालाई मिसाएर हेर्दा नेपालको भौगोलिक अवस्थिति निश्चय नै सामरिक दृष्टिले महत्वपूर्ण रहेको छ। यसैले विश्वका शक्तिहरू यसलाई संरक्षण गरी यसको प्रयोग गर्न चाहन्छन् र आज सम्म सफल पनि भएका छन्।
फेरि नेपालमा सत्तामा आउन चाहना राख्ने दल र दलका नेताहरूले प्रत्यक्ष वा परोक्ष रूपले बिदेशी शक्तिको अगाडि ल्याप्चे लगाउने प्रवृत्ति र बिदेशीले छनौट गरेका नेतालाई सत्तामा पठाउने प्रवृत्तिको अन्त्य नभए सम्म बैदेशिक हस्तक्षेपको बिरोध गर्नु केवल नक्कली राष्ट्रवाद बाहेक केही हैन। यसरी विश्व मान चित्रमा विश्वले महत्व दिएको मुलुकलाई कसैको गोटी नबनेर हाम्रै स्वार्थमा यो देशलाई उपयोग गर्न सक्यौ भने हाम्रो आर्थिक विकास कसैले रोक्न सक्दैन, यसको निम्ति नेपालको हावापानी र माटो सुहाउदो राजनीतिक ब्यबस्था र उच्च कोटीको राजनेताको खाॅंचो छ।