नेपालमा बाक्लिएको छिमेकीको चलखेल

khabarwave
१२ मंसिर २०७७

नेपालमा नेकपाको सरकारको तमासा हेर्न छिमेकीहरू तछाड मछाड गरिरहेका छन्। नेपाल संग बोलचाल बन्द गरेर बसेको भारत डाक्यो न बोलायो लिंडो पुच्छर डोलायो भने जस्तो गरी (र) लाई भत्क्यौरो बनाएर पठाए पछि परम्परा निर्वाह गर्न सेना प्रमुख आएर के भारत पुगेका थिए विदेश सचिव हुर्रिएर आए र निकट भविष्य मै विदेश मन्त्री पनि आउने चर्चा छ।

सि पिंगको गायत्री मन्त्रले दीक्षित भएका नेकपाको सरकारका कार्यकर्ता हौसिएका देखेर सि पिंग आफैले तय गरेका एक दिने भ्रमणबाट आरम्भ भएको उत्तरी छिमेकीको भ्रमण पनि बाक्लिदै गएको छ। यता सरकारमा बस्नेहरू सत्ताको कुर्सीका लागि तछाड मछाड गरेको देखेर चीनीया प्रतिनिधि यान्छीले तिहार भर नेताहरूकोमा देउसी भैलो खेलिन् र यतिले मात्र नपुगेर १/२ दिन मै चीनीया रक्षा मन्त्री पनि आउने चर्चा छ।

भौगोलिक सुगमताका कारण धेरै प्रकारले नेपाल संग नजिक रहेको भारतले सामरिक महत्वका दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समावेश गरी सो ठाउमा विकासका संरचना निर्माण गरे पछि नेपाल संग कुटनीतिक सम्बन्धमा चीसोपन आयो। यसका विषयमा नेपालले छलफलका लागि अनुरोध गर्दा कुनै वास्ता नगरे पछि नेपालका सबै राजनीतिक दलहरूको सहमतीमा नेपालले पनि दवाव स्वरूप संविधान नै संशोधन गरी आफ्नो नक्सा संबिधानमा समावेश गर्यो।

यसबाट रिसाएर भारतले आफ्नो समर्थनमा मिडिया युद्ध गर्यो तर नेपालले यस विषयमा गरेको कुटनीतिक प्रयासलाई कमजोरी ठानेर भारत मूक दर्शक भै बसी रह्यो। यसै बीचमा भारत र चीन बीचको लद्दाख क्षेत्रमा सीमा सम्बन्धी विवादले उग्र रूप लियो। यो भन्दा अगाडि देखि नै भारतको पाकिस्तान संग सीमा विवाद कायमै थियो। यस्ता विवाद कुनै न कुनै रूपमा भारतका सबै सीमावर्ती राष्ट्र संग छ।

यसरी सबै छिमेकी संग एक्लिएर बस्न भारतलाई गार्हो भै रहेका बखत नेपालमा नेकपाको सरकारको चीन संगको हिमचिम बढेका कारण नेपाल उपर चीनको राजनीतिक हस्तक्षेप बढ्न जादा सो हस्तक्षेप कम गर्न भारत नेपाल संग नजिक हुनु पर्ने बाध्यता आई पर्यो। भारत बेलायतको उपनिवेशबाट स्वतन्त्र त भयो तर उसले आफ्ना छिमेकीहरू संगै त्यस्तै औपनिवेशिक ब्यबहार गर्दै छ जस्तो ब्यबहार उसले बेलायतीबाट भोगेको थियो। र उसले आफूलाई अन्य छिमेकी राष्ट्रहरूको मालिक भएको अभिनय गर्छ जुन उसका छिमेकीहरूलाई नरूच्ने विषय हो।

यो प्रवृत्ति जब सम्म भारतले लिन्छ तब सम्म यसका छिमेकी संग यसको सम्बन्ध सहज हुदैन। चीनले आफ्नो स्वार्थमा मात्र चासो लिने र छिमेकी संग खासै वास्ता नगर्ने विगतको बानीलाई बर्तमान समयमा केही परिवर्तन गरी आफ्नो प्रभाव यस क्षेत्रमा फैलाउन खोजेको प्रतीत हुदै छ। त्यस माथि नेपालमा नेकपाको सरकार बनेपछि नेपालका कम्युनिष्टहरूले चीनको कम्युनिष्ट पार्टी संग स्कुलिंग गर्न खोजे जुन समीक्षाको विषय त हुदै हो र त्यसमा पनि नेपालले चीन सरकार संग सहयोग लिनु र चीनको कम्युनिष्ट पार्टीको भातृ संगठनको रूपमा सहयोग लिनु कदापि एउटै विषय हुनै सक्दैनन् जुन एउटै जस्तो मानिदै छ।

हामीले दुई छिमेकी देशबाट त्यस किसिमको सहयोग लिने हो जुन नेपाल र नेपालीको हितमा प्रयोग हुन्छ। तर हामीले सहयोगको नाममा त्यो देशको विचारै आयात गर्न मिल्दैन। विदेशबाट लिईने सहयोगले देशको विकासमा थप योगदान हुनु पर्छ। कसैले दिने सहयोगले नेपालको निर्यात प्रतिस्थापन हुनु हुदैन र नेपाल कसैको आर्थिक उपनिवेश पनि हुनुहुदैन। हामीलाई अति आवश्यक भएका तर हाम्रो क्षमताले नभ्याउने संरचना वा वस्तुलाई मात्र वैदेशिक सहयोगको रूपमा स्वीकार्नु पर्छ, दातृ निकायले जे दियो त्यो स्वीकारेर आर्थिक उपनिवेश बन्ने प्रयास गर्नु हुदैन। भारत हाम्रो परम्परागत मित्र राष्ट्र हो।

भौगोलिक अवस्थितिले पनि भारत संग को सम्बन्ध अझै सहज हुन पुग्यो तर यो सहजता संगै उसका केही अपाच्य ब्यबहारहरू पनि नेपालले भोग्दै सहदै आयो। यसरी रहदै बस्दै गर्दा भारतका अर्घेल्याईहरू कम गर्न बिकल्पहरू खोज्नु पर्ने बाध्यता पनि नेपाललाई हुन्थ्यो। यस्ता बिकल्पहरू कहिलेकाही चीनबाट पनि खोजिन थाल्यो जसले भारतको एकाधिकारमा केही कमी हुन थाल्यो र भारत नेपालको नजिक हुने प्रयास गर्न थाल्यो।

यसरी नेपालले आर्थिक एवं राजनीतिक बिकल्प खोजेको अनुभूति भारतलाई हुन गएकोले पछिका दिनहरूमा भारतका कुटनीतिज्ञहरूको भ्रमण हुन थालेको हो। यसरी बाक्लिदै आएका छिमेकी देशका कुटनीतिज्ञहरूको भ्रमण नेपालका कारणले नभएर छिमेकी देश कै कारणले भएको प्रतीत हुन्छ। हाम्रो खाॅंचो र आवश्यकता नभैकन भएका यी भ्रमणहरू एक किसिमले भन्ने हो भने वैदेशिक हस्तक्षेप कै अर्को रूप हुन् भन्न सकिन्छ।

अन्त्यमा यसरी प्रतिस्पर्धी तवरले हुने भ्रमणहरू हाम्रो देशको हितमा गर्न सकिएनन् भने हाम्रो देश उनीहरूको कृडा स्थल नहोला भन्न सकिदैन। त्यसैले यस्तो अवस्थामा हुने भ्रमणलाई नियन्त्रण गरी नेपालको हितलाई ध्यानमा राखी यस किसिमका भ्रमणलाई नियमित गर्न जरूरी हुने देखिन्छ।

Loading spinner