निरन्तरता नै सफलता हो (सज्जाको संघर्ष कथा)

khabarwave
१७ भाद्र २०७७

नेपाल आइडल सिजन ३ मा ‘संसार जित्ने आँट गर्दैछु’ बोलको सविन राईको गीत गायकी सज्जा चौलागाईंले त्यो राउण्डमा निर्णायक न्यूह बज्राचार्यको यति प्रशंसा पाइन कि त्यो प्रशंसाले उनलाई अघि बढ्न ठूलो आँट दियो । पप समूहको संगीतमा बढी जम्ने उनको स्वरको जादु सुन्ने जो कोही श्रोतालाई लाग्थ्यो यी चेलीमा गीत गायनको खास केही छ । आइडलको ताज यिनले आफ्नो पोल्टामा पार्न पनि सक्छिन् । नभन्दै २२ वर्षकी यी युवतीले तेस्रो नेपाल आइडलको ताज जितेरै छाडिन् । जिन्दगीको बाल्यकाल औसत नेपाली बालबालिकाले झैं बिताएकी मोरङ पथरीकी सज्जा बुवा टंक चौलागाईं र आमा गीता चौलागाईंको पहिलो सन्तानकोरुपमा विस २०५५ मङ्सिर १९ गते काठमाण्डौको नारायणटारमा जन्मिएकी हुन् । पछि उनका भाई पनि काठमाडण्डौ मै जन्मिए । सपनाको शहर काठमाण्डौ आएका सज्जाका बुवा टंक यहाँपनि राम्रो आम्दानी गर्न नसकेपछी वा भनौं काठमाण्डौको आम्दानीले छोराछोरी हुर्काउन र पढाउन गाह्रो भएपछी राम्रो कमाइको खोजिमा मलेसिया हान्निए । मलेसियामा ठीक ठाक कमाई भइरहने, पैसा पठाएर काठमाण्डौमा परिवार चल्ने अनि छोराछोरीको पढाई लेखाइ पनि निरन्तर अगाडी बढ्ने कृया चलिरहँदा विदेशमा टंक बिरामी परे । विदेशमा बुवालाई सन्चो नभएपछि सज्जाको परिवारले उनलाई नेपाल झिकायो ।
जव स्वास्थ्यको कारण कमाई जमाई छाडेर बुवा स्वदेश फर्किनु भयो तव परिवारको आम्दानीको मुहान सुक्यो । छोरा छोरी सानै भएको र श्रीमानको स्वास्थ्य कमजोर भएकोले सज्जाकी आमा गीताले आफै विदेश गएर भएपनि छोराछोरीको पढाईलाई निरन्तरता दिने विचार लिइन् । छोराछोरी हेर्ने जिम्मा टंकले लिए भने मुटुमाथि ढुङ्गा राखेर गीतालाई उनले साइप्रस पठाए । विद्यालयमा औपचारिक शिक्षा आरम्भ भएदेखि बालिका सज्जामा गीत गाउने लक्षण देखा पर्न थाले । विद्यालयका हरेक गतिविधिमा उनले पढेर भन्दा बढी गीत गाएर शिक्षकहरुलाई प्रभावित बनाउन थालिन् । कक्षा ८ मा पुग्दा उनले विद्यालय स्तरको गायन प्रतिस्पर्धामा पहिलो स्थान ल्याइन् । गाउने काममा उनलाई परिवारबाट सधैं हौसला र प्रेरणा मिलिरह्यो । उमेर बढ्दै जान्छ, मानिसमा समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारी पनि बढ्दै जान्छ । बाटोमा होस अथवा भान्सामा नै किन नहोस गीत गुनगुनाउन कहिल्यै नछोड्ने सज्जाले वास्तवमा संगीतप्रतिको सानो लगावले आइडलको ताज जित्न सफल भएकी भने होइनन् । १२ कक्षा पास गर्दा नगर्दै उनको गायन यात्राको वास्तविक संघर्ष शुरु हुन्छ ।
व्यवसायिक गायनको दौरान सबैभन्दा पहिले ५ सय रुपैयाँ कमाएको क्षण कहिल्यै पनि भुल्दिनन् रे । विगत ५ वर्षदेखि काठमाण्डौका ठमेल, दरबारमार्ग र कमलपोखरी क्षेत्रका विभिन्न रेष्टुरेन्ट र लाउन्जहरुमा गीत गाउन जाँदा उनी नारायणटारबाट माइक्रोबस चढेर न्यूरोड गेटनेर झरी लुरुलुरु पिठ्युमा गीतार बोकेर ठमेल पुग्थिन् । उनको साथमा आफ्ना सांगितीक ब्याण्डका साथीहरु हुन्थे । ‘त्यो जिन्दगी पनि रमाइलै थियो’ उनी आफ्नो विगत सम्झिन्छिन् ।

तेस्रोमा मिल्याे सफलता

गायन प्रतियोगिताको अन्तरर्राष्ट्रिय रियालिटी शो आइडल नेपालमा आउँदा नेपाल आइडल बनेर आयो । गीत संगीतका पारखीहरुलाई यो एउटा अवसरयुक्त खबर समेत थियो । जुन प्लेटफार्ममार्फत् धेरै संगीत अनुरागीहरुले क्षमता देखाउन सक्थे र धेरै मानिसहरुले सुन्न र देख्न पाउँथे । यो अवसरलाई उपयोग गर्नुपर्छ भन्ने सोंचेर आइडलको पहिलो सिजनमै सज्जा अडिसन दिन गइन् तर त्यो बेला उनले निर्णायकहरुको मन जित्न सकिनन् । ब्यापक तयारी गरेर मात्रै अडिशन दिन जान्छु भनेर दोस्रो सिजनमा उनी देखिइनन् । तव उनी लागिन तेस्रो सिजनको तयारीमा ।

एक समयमा फेसन डिजाइनर बन्ने समेत सोंच राखेकी उनी रेष्टुरेन्ट र लाउन्जहरुको गायनबाट जीवन धान्ने आम्दानी नहुँदा निराश हुन लागेकी थिइन् । अब यो देशमा केही गर्न सकिँदैन भन्ने ठानेर विदेश जाने बिचार गरिन् । माल्टा भन्ने देशमा रोजगारी गर्न जाने भनेर भिसा आवेदन पनि गरिन् । उनले उता भिसा आवेदन गरिन यता नेपालमा आइडलको तेस्रो सिजन पनि शुरु हुन लाग्यो । देशका विभिन्न शहरहरुमा नेपाल आइडल तेस्रो सिजनका अडिशनहरु चले । अडिसन दिन जाउँ कि नजाउँको दोधारमा ‘द लोडिङ’मा मुख्य भोकलको भूमिका निभाइरहेकी सज्जाले आइडलको काठमाण्डौ अडिसनमा जानैपर्ने भनेर ब्याण्डबाट निर्णय भयो ।

बानेश्वरको एउटा विद्यालय प्राङ्गनमा केही घण्टाको कुराइपछि उनको अडिसन दिने पालो आयो । यसपालाको अडिसनमा भने उनले तीनैजना ९न्यूह बज्राचार्य, कालिप्रसाद बास्कोटा, इन्दिरा जोशी० निर्णायकहरुको मन जित्न सफल भइन् साथै अगाडीको राउण्डको लागि पनि छानिइन् । आइडलको तेस्रो सिजनभरी कारिव ३५ वटा गीत गाएकी सज्जाले अन्तिम फाइनलमा अत्यधिक बलिया प्रतिस्पर्धी बर्दियाका प्रविण बेडुवाल र बर्दिवासका किरणकुमार भुजेललाई पछि पार्दै आइडलको ताज आफ्नो पोल्टामा पारिन् र ५० लाख रुपैयाँ पुरस्कार समेत पाइन् । आधा आकाश र आधा धर्ती ढाक्ने तर कमजोर ठानिएका महिलाहरुबाट शक्तिशाली ठानिएका पुरुषलाई पछि पारेर प्रतिष्पर्धामा पहिलो हुनेमा सम्भवतः सज्जा चौलागाईं पनि पर्छिन् होला । यो आम नेपाली महिलाका लागि सानो उत्प्रेरणाको कुरा होइन । सज्जाका आगामी पाइला अरु सफलतामा पुगुन हाम्रो पनि शुभकामना र बधाई ।

– भीम भास्ती

Loading spinner