नाकामा सेना परिचालन गर्न र उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउन सुझाब

khabarwave
२३ भाद्र २०७७

काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले निषेधाज्ञालाई खुकुलो पार्दै उपत्यकाका सबै नाकामा कडाई गरी सेना परिचालन गर्न सुझाएकाे   छ । मेयर फोरमको मंगलबार बसेको बैठकका निर्णय सुनाउँदै उपत्यका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी सीमा नाकामा कडाई गर्नुपर्ने निर्णय भएको बताए ।

सरकारको विरोध र समर्थनमा र्याली निकाल्ने, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न निषेध गर्नुपर्ने र जात्रा तथा सांस्कृतिक गतिविधिमा समेत रोक लगाउनुपर्ने निर्णय भएको बताउदै उनले  उपत्यकाका सबै नाका कडाइ गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय भएकाे बताए । त्यस्तै स्थानीय तहबाट प्रदान भएको सेवा प्रवाहलाई आवस्यकता अनुसार नियमित रुपमा सूचारु गर्ने निर्णय पनि फोरमले गरेको छ । उद्योग भित्रै क्वारेन्टाइन निर्माण गरी मजदुर र कर्मचारी राख्ने व्यवास्था गरेपछि मात्रै उद्योग सञ्चालन गर्न दिनुपर्ने, सार्वजनिक यातायातलाई हालको लागि रोक लगाई निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्नुपर्ने लगायतका निर्णय समेत फोरमले गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधनको क्रममा रहेकोमा फोरमको गम्भीर ध्यानाकर्षण भएको पनि श्रेष्ठले बताए । ऐन संशोधन गर्ने सम्बन्धमा सुझाव तयार पार्न कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, नागार्जुन नगरपालिकाका उपमेयर शुशिला अधिकारी, र तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल रहेका छन् ।यसबाहेक सरकारले शिक्षक दरबन्दी मिलान गर्ने कार्य गरिराखेको सम्बन्धमा उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको पनि सचिव श्रेष्ठले बताए । विषयगत आधारमा शिक्षकहरुको अनुपात वर्तमान स्थितिको आधारमा कायम गर्नुपर्ने ठहर गर्दै शिक्षकहरुको तलब भत्ता तत्काल उपलब्ध गराउन समेत फोरमले माग गरेको छ ।

Loading spinner