नक्खु कारागारका जेलरसँग कार्की आयोगको प्रश्न

khabarwave
१८ कार्तिक २०८२

काठमाडौँ । भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा जेलबाट बाहिरएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा नक्खु कारागारका जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको छ। आइतबार आयोगको कार्यालयमै बोलाएर भदौ २४ गते रवि लामिछानेलाई कसरी जेलबाट निकालियो र अरु कैदीहरू कसरी फरार भए भनेर जोशीसँग सोधपुछ गरिएको हो। आयोगका सदस्य रहेका नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्माका अनुसार जेलरसँग सोधपुछ सकिएको र अन्यसँग क्रमशः सोधपुछ थालिने छ। जेनजी आन्दोलनको घटनाको छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ। आयोगले नक्खु कारागारको विषयमा प्रहरीसँग सोधपुछको तयारी गरेको छ। आयोगले प्रहरीसँग सोधपुछ गरेपछि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग सोधपुछ गर्नेछ। प्रमुख जिल्ला अधिकारीसँग सोधपुछ गरेपछि आवश्यकताका आधारमा उच्च पदमा रहेकाहरूसँग सोधपुछ गरिने शर्मा बताउँछन्। भदौ २४ गते लामिछानेलाई छुटाउन उनकै पार्टीका कार्यवाहक सभापति डीपी अर्यालसहितका नेताहरु नक्खु पुगेका थिए। उनीहरूले कारागारले नै लामिछानेलाई सुरक्षाका लागि भन्दै आफ्नो जिम्मामा बुझाएको दाबी गरेका छन्। तर उनी बाहिरिँदा रास्वपाले नै सार्वजनिक गरेको जेलको भनिएको पत्रमाथि भने प्रश्न उठेको छ। त्रुटिपूर्ण पत्र कारागारले दिएको हो कि होइन भन्ने प्रश्नको जवाफ अहिलेसम्म कसैले दिएको छैन। सुरुमा नक्खु कारागारबाट लामिछानेसहितका कैदीबन्दी फरार भएपछि देशका अरु २८ वटा कारागारबाट कैदीबन्दी फरार भएका थिए। करिब १५ हजार कैदीबन्दी फरार भएकोमा अझै करिब ५ हजार बाहिरै छन्। यस्तै, जाँचबुझ आयोगलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, जेनजीको एउटा समूहका अगुवा सुधन गुरुङ लगायतसँग पनि आयोगलाई सोधपुछ गर्न दबाब छ। यी चार जनाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी समेत परेको थियो। प्रहरीले सुरुमा ती सबै जाहेरी आफूले दर्ता नगरेर जाँचबुझ आयोगमा पठाइदिएको थियो। तर फौजदारी अभियोगमा अनुसन्धान गर्न प्रहरीले जाँचबुझ आयोगको प्रतिवेदन कुर्नु नपर्ने जवाफसहित आयोगले प्रहरीलाई नै फिर्ता गरिदिएको थियो।

Loading spinner