दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रचण्ड पनि तयार

khabarwave
२१ मंसिर २०७७

काठमाडौं । दुई अध्यक्षको लडाइँले अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी बाटो बिराएको यात्री जस्तो बनेको छ । त्यही बीचमा अहिले दुवै अध्यक्ष दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार भएको घोषणा गरेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणको कुरा उठाएको केही समयपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्ड गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताए। यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका थिए। प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै प्रचण्डले भने, उहाँले सुरूमा फायरिङ खोलेपछि हामीले पनि जवाफी फायरिङ गर्दा अहिलेको परिस्थिति आएको हो ।
यसैबीच नेकपाको आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डले छुट्टाछुट्टै रूपमा सचिवालयमा राखेका प्रस्तावहरूलाई छलफलको एजेन्डामा राखिएको छैन।
आजको बैठकमा पार्टीको आन्तरिक जीवनमा देखिएका समस्याबारे छलफल गर्ने एजेन्डा बनेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। आज बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए। उनले आफू बैठकमा उपस्थित नहुनाको कारणसहित दुई पेजको पत्र पठाएका थिए।

Loading spinner