दुई संस्थानको रिक्त महाप्रबन्धकमा अझै १५ दिन निवेदन हाल्न पाइने (सूचनासहित)

khabarwave
२४ भाद्र २०७७

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालय मातहतका दुई संस्थानमा रिक्त महाप्रबन्धक पदको उम्मेदवारी दर्ता गर्ने म्याद १५ दिन थप गरेको छ ।

नेपाल औषधि लिमिटेडमा रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि मन्त्रालयले भदौ ३ गते सूचना प्रकाशित गरेकोमा मुलुकमा विद्यमान पछिल्लो अवस्थाका कारण इच्छुक उम्मेदवारहरुले मन्त्रालयमा आई दरखास्त दर्ता गराउन असहज भएको कारण देखाउँदै मन्त्रालयले १५ दिनको म्याद थप गर्ने निर्णय गरेको छ । सो निर्णयअनुसार इच्छुक उम्मेदवाहरुले असोज ७ गतेसम्म निवेदन दिन सक्ने सूचना मन्त्रालयले भदौ २२ गते प्रकाशन गरेको थियो ।

यस्तै मन्त्रालय मातहत रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा रिक्त रहेको महाप्रबन्धक पदमा नियुक्तिका लागि भदौ १ गते सार्वजनिक सूचना प्रकाशित गरेकोमा मुलुकका अधिकांश स्थानमा निषेधाज्ञा रहेको कारण देखाउँदै मन्त्रालय १५ दिन म्याद थप गरेको छ ।

भदौ १९ गते थप गरिएको म्यादअनुसार असोज ५ गतेसम्म इच्छुक उम्मेदवारहरुले महाप्रबन्धक पदमा दरखास्त दिन सक्नेछन् । उदयपुर सिमेन्ट उद्योगका तत्कालिन महाप्रबन्धक सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशक बनेपछि उक्त पद रिक्त रहेको छ ।

Loading spinner