दशैंमा कुन देवीको पूजा कहिले गर्ने ?

khabarwave
१ कार्तिक २०७७

आजबाट दशैंको औपचारिक शुरुआत भएको छ । दशैं देवीको पूजा आराधना गरिन्छ । शक्तिकी देवीको पूजा आराधना गरेर मनाइने पर्व दशैंमा कुन दिन कुन देवीको पूजा कसरी गर्ने ?
कुन दिन कुन देवीको हुन्छ पूजा
नवरात्रको पहिलो दिन अर्थात् शनिबार देवी शैलपुत्रीको पूजा आराधना गरी नवरात्रको सुरुवात गरियो । शैलपुत्री भनेको पार्वतीको स्वरूप हो । आफ्ना पति महादेवको आलोचना सुन्न नसकेर अग्निमा हामफालेकी सतिदेवीले अर्को जन्ममा हिमालयकी पुत्री पार्वतीको रुपमा जन्म भएको भन्ने स्कन्धपुराणमा उल्लेख छ । तिनै पार्वती स्वरुपको पहिलो दिन पूजा गर्ने गरिन्छ ।
दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा हुने गर्छ । यहाँ ब्रह्म शब्दको अर्थ तपस्या भन्ने हो । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ ।

त्यस्तै, तेस्रो दिन आराधना गरिने देवी चन्द्र घण्टा, चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनीको दिनसम्म सामान्य दशैं घरमा पूजा बाहेक खासै विशेष केही पनि कर्म गरिँदैन ।

तर दशैंको सातौ दिन अर्थात् सप्तमीको दिनदेखिको ४ दिन दशैंको विशेष कर्म हुने गर्छ । सप्तमीको दिन आफ्नो घरमा भएका हतियारहरूको पूजा गरिन्छ । सो दिन कालरात्रि देवीको पूजा हुन्छ । देख्दै भयंकर स्वरुपकी ती देवीको बाहेक अरु सबैको पूजा दिउँसोमा हुने गर्छ । त्यस्तै, अष्टमीको दिन महागौरी र दसैंको नवमीको दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको १० औं दिन अर्थात् विजयादशमीको दिन दशैंको मुख्य दिन हो । नौ दिनसम्मको महिसासुर र देवीबीचको युद्धमा दशमीको दिन महिसासुरलाई दूर्गाले वध गरेको उपलक्ष्यमा विजयको टीका लगाउने गरिन्छ ।

कुल चार प्रकारको दशैंमध्ये असोज महिनामा मनाइने यो दशैंलाई बडा दशैं भन्ने गरिन्छ । यो दिन नै आफूभन्दा ठूलाको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिने गरिन्छ ।

शास्त्रीय मान्यता अनुसार टीकाको ५ दिन अर्थात् पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ । तर गण्डकी प्रदेशका केही ठाउँमा भने दशैंको दिनमात्रै टीका लगाउने चलन छ ।

Loading spinner