डिजिटल दक्षिणाकालागि बैंकहरूकाे अफरैअफर
काठमाण्डाै । डिजिटल दसैँको योजनालाई सफल बनाउन माछापुच्छ्रे , बैंक अफ काठमाण्डू ,राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक ,मेगा बैंक ,सिटिजन्स बैंक लगायत विभिन्न बैंकहरुले आकर्षक योजना ल्याएका छन् । माछापुच्छ्रे बैंकले विजया दशमीको टीकादेखि पूर्णिमासम्म डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
माछापुच्छ्रे मोबाइल मनिमार्फत दुई सय रुपैयाँ भन्दा बढी डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासब्याक वापत एक सय रुपैयाँ ग्राहकको खातामा जम्मा हुने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले पोइन्ट अफ सेल (पीओएस) सेवा सुरु गरेको छ । बैंकले सम्पूर्ण शाखामार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनका लागि पीओएस माध्यमबाट भुक्तानी सेवा सुरु गर्न थालेको हो । पीओएस माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने भएको छ ।
मेगा बैंक नेपालले ‘तीनमा तीन सय’ नामक स्किम ल्याएको हो । कोरोनाको असहज परिस्थितिमा नोटविहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउने बैंकले जनाएको छ ।
यसैगरी बैंक अफ काठमाण्डूले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । बैंकले दसैँंलाई लक्षित गर्दै मोबाइल बैंकिङ प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएका हो । व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डूले तिनमा तिन सय नगद उपहार योजना ल्याएको हो ।
यस योजना अनुसार ग्राहकले तीन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १००० रुपैयाँ वा सो भन्दा बढी भएमा ३०० रुपैयाँ नगद उपहार दिनेछ । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङमार्फत दसैँमा दक्षिणा प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने योजना ल्याएको छ ।
यसैगरी सिटिजन्स बैंकले आफ्ना डिजिटल बैकिङ प्रयोगकर्तालाई पस, क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपियाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २ सय ५० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नसक्ने योजना ल्याएको छ ।