ट्राफिक कुटेर समातिएका एक जनालाई कोरोना संक्रमण
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ जबर्जस्ती तान्ने सिलसिलामा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये एकजनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरले म्याद थप गर्नुअघि गरेको पिसीआर परीक्षणमा एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।
ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ पर्ने गरेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ । पुल्चोकमा बिहीबार रातो मत्स्येन्द्र नाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरे निर्घात कुटिएका थिए । झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । घटनापछि प्रशासन र स्थानीयबीच भएको छलफलले सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर आइतबार रथ तान्ने निर्णय गरेको थियो । जसअनुसार शनिबार क्षमा पूजा र आइतबार रथ तान्ने कार्यक्रम सकिएको छ ।