टोकियो ओलम्पिक २०२० ले नेपाललाई दिएको पाठ

khabarwave
२५ श्रावण २०७८

२०१६ मा सम्पन्न भएको रियो ओलम्पिक पछि २०२० मा हुनु पर्ने ३२ औं गृष्म कालीन ओलम्पिक खेल कोभिडका कारण १ बर्ष पछि सरेर जापानको टोकियोमा यसै वर्षको जुलाई २३ बाट शुरू भै अगस्त ८ मा समापन भएको छ। बिश्वमा फैली रहेको कोभिडको प्रकोपको बाबजूद संकटकाल लगाएर भए पनि जापानले ओलम्पिक सम्पन्न गरेकोमा आयोजक राष्ट्र जापानलाई धन्यवाद दिनै पर्छ।

विश्वका २०५ राष्ट्र सहभागी भएको यो कुम्भ मेलामा ३३ खेलका ३३९ ईभेन्टहरू समावेश थिए। कूल ११,०९० खेलाडीहरूको सहभागीता रहेको यो ओलम्पिक खेलमा संयुक्त राज्य अमेरिका ३९ स्वर्ण सहित प्रथम, चीन ३८ स्वर्ण सहित द्वितीय र आयोजक राष्ट्र जापान २७ स्वर्ण सहित तृतीय भए। एवं रीतले क्रमश: बेलायत, रूस, अष्ट्रेलिया,निदर्सल्याण्ड, फ्रान्स, जर्मनी र ईटली दशौ स्थान सम्म पुगे। १९६४ मा भएको १८ औं गृष्मकालीन ओलम्पिक देखि नै गृष्मकालीन ओलम्पिक खेलमा नेपालको सहभागिता रहदै आएको छ। यस पटक पनि ५ जना नेपाली खेलाडीले सहभागिता जनाए।

तर हामी भन्दा पछि सहभागी भएका र भौगोलिक रूपमा हामी भन्दा साना राष्ट्रहरूले समेत पदक तालिकामा आफ्नो नाम समावेश गरी रहदा हाल सम्म नेपालले आफ्नो राष्ट्रिय कीर्तिमान तोड्ने सिवाय केही गर्न सकेको पाईएको छैन। यसरी बारम्बार सहभागितामा मात्रै रमाएर कति समय बिताउने हो? हामीमा के कति कमी वा कमजोरी भएका कारण हामीले पदक प्राप्त गर्न नसकेको हो भन्ने कुरा जिम्मेवार निकायलाई जानकारी छैन र! कि छैन? यदि छ भने सो कमी कमजोरी सुधार गर्न किन सकिएन? केही अभिलेख छ? यसरी लाजमर्दो तरीकाले हरेक पटक फर्किनु नै छ भने किन सहभागिता जनाएर राज्यको ढुकुटी रित्याउने?

यस किसिमका खेलकूदमा सहभागिता जनाउनु अघि हामीले खेलाडीको तयारी गर्नु पर्छ। आज सम्म हामीले यस क्षेत्रमा गरेको तयारी नपुगेकै हो भन्न धक मान्नु पर्ने अबस्था छैन । त्यसैले हाम्रा काम गराईमा थप सुधारको खाचो भएको घाम जत्तिकै छर्लंग छ।खेलकूदको पदक तालिकामा आफ्नो नाम राख्न चानचुने तरीकाले पुग्दैन । पदकको लागि संघर्ष गर्ने देशहरूले आफूलाई जीवन मरणको सवाल संग आफूलाई उभ्याउछन् र सफलता हात पार्छन् तर हामीहरू भने झारा टार्ने किसिमको तयारी गरेर सहभागिता जनाउछौ । यस्तो ढंगले हामीलाई पदकले पछ्याउदैन ।

यसको निम्ति हाम्रा माध्यमिक बिद्यालयहरूबाट सम्भावित विद्यार्थी छनौट गरेर हरेक प्रदेश भित्र प्रतियोगिता गराई सबै प्रदेशबाट आएका खेलाडीहरूलाई केन्द्रमा बन्द प्रशिक्षणमा राखेर कम्तिमा १ वर्ष प्रशिक्षण दिनु पर्ने हुन्छ। हामीले धेरै खेल छनौट पनि गर्नु पर्दैन। बढीमा १० बटा खेलबाट शुरू गरेर पछि पछि खेलहरू थप गर्न सकिन्छ। हाम्रो क्षमता जति छ, त्यसैलाई आधार मानेर प्रशिक्षण दिनु उपयुक्त हुन्छ। प्रशिक्षकहरू बाहिरी देशबाट करारमा राखेर नेपाल भित्रै प्रशिक्षक उत्पादन गर्नु पर्छ। हामी संग खेलकूद मन्त्रालय छदैछ, बिभिन्न खेलका विशेष विभागहरू छन्, तिनीहरूलाई कार्यक्रम बनाउन दिएर आवश्यक पर्ने साधन श्रोत जुटाएर ब्यबस्थापन गर्ने हो भने यो ठूलो कुरै हैन तर हामीले खेलकूदको क्षेत्रलाई महत्व दिएर ब्यबस्थापन गर्न सकेका छैनौ।

हामी जे मा पनि राजनीति गर्न खप्पीस छौ। राजनीतिको प्रभावबाट जब सम्म खेलकूद क्षेत्रलाई अलग राख्न सक्दैनौ तब सम्म हामीले खेलकूद क्षेत्रमा गरेको लगानी ब्यर्थ हुन्छ। त्यसैले हाम्रा कमी कमजोरीहरूलाई सुधार गर्दै मन ,वचन र कर्मले काम गरेर २०२४ मा फ्रान्सको राजधानी पेरीसमा हुने ३३औं ओलम्पिकमा पदक प्राप्त गर्न सक्ने गरी आजै देखि वन्द प्रशिक्षण सन्चालन गरौं।

Loading spinner