छक्का पञ्जा टिममा भाडभैलाे, धुर्मुस–सुन्तली पछि जितु पनि बाहिरिए
दीपकराज गिरी, दीपाश्री निरौलाको टिमबाट कलाकार जितु नेपाल (मुन्दे) बाहिरिएका छन् । हास्य कलाकारको टिमले सुरु गरेको ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्मसँगै आएका जितुले दीपक दीपाको टिमबाट अलग भएको बताएका छन् । लकडाउनको समयमा टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला हटाइए पछि यि बीच मनमुटाव रहेको बुझिएको छ । दीपाश्री निरौलालाई हटाएर मुन्द्रेको कमेडी क्लबमा अध्यक्षका रूपमा करिष्मा मानन्धरलाई राखेका थिए ।
दीपक दीपाको टिमबाट जितु अघि धुर्मुस–सुन्तली (सीताराम कट्टेल–कुञ्जना घिमिरे) आउट भइसकेका थिए । ‘छ एकान ६’ र ‘वडा नं ६’ गरी दुई फिल्ममा सहकार्य गरेका धुर्मुस–सुन्तलीले तेस्रो फिल्म ‘छक्का पञ्जा’मा साथ छाडेका थिए । उनीहरुबाट छुट्टिएर कुञ्जना र सिताराम कट्टेलले नयाँ फिल्म ‘सेन्टी भाइरस’ निर्माण गरिसकेका छन् ।
जुन गत फागुनमा प्रदर्शन भइसकेको छ । ‘तीतो सत्य’देखि सहकार्य गर्दै आएका निर्मल शर्मा पनि ‘छक्का पञ्जा’पछि दीपक–दीपाको समूहबाट अलग भएका थिए । शिवहरि पौडेलले पनि ‘छ माया छपक्कै’देखि अलग भइसकेका छन् । उनले दीपक दीपाको समुहबाट अलगिएर किरण केसीको समूहतर्फ लागेका छन् । छक्का पञ्जा टिम छोडेर किरण केसीको फिल्म ‘लक्का जवान’मा निर्देशन गरिसकेका छन् । कोेरोना महामारीका कारण फिल्म प्रदर्शन हुन सकेको छैन । यस फिल्ममा शिवहरी पौडेलको पनि लगानी रहेको छ ।