गृहको प्रस्तावमा कसले चलायो छुरा, डिआईजी बढुवामा को को अगाडि ?

khabarwave
८ मंसिर २०७७

काठमाडौं । सरकारमा सहभागी मन्त्रिहरुलाई सुइको नै नदिई प्रस्तावहरु स्वीकृत हुने चलन केपी ओली सरकारको विशेषता नै भएको छ । यस्तै पछिल्लो विशेषताको रुपमा निरन्ता पाएको छ, गृहले लगेको प्रस्तावमा विनाविभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेलको हस्तक्षेप ।

गृहमन्त्रालयले पाँच जना प्रहरी नायव महानिरीक्षकको दरबन्दी थप्ने प्रस्ताव अर्थ लगायत सरोकारवाला मन्त्रालयको सहमति लिएर मन्त्रिपरिषद्मा पठायो तर मन्त्रिपरिषद्बाट स्वीकृत भएर आउँदा एक एआईजीको दरबन्दी थपिएर आएपछि अहिले गृहको नेतृत्व प्रधानमन्त्री र उपप्रधानमन्त्रीसँग असन्तुष्ट आइतबार यही असन्तुष्टि पोख्न गृहमन्त्री रामबहादुर थापा बादलले सचिव महेश्वर न्यौपाने र नेपाल प्रहरीमा आईजीपी शैलेस थापा क्षेत्रीलाई लिएर प्रधानमन्त्रीकहाँ पुगे प्रधानमन्त्रीसँग असन्तुष्टि जनाएर बालुवाटार फर्के लगत्तै थप भएको एआईजी पदमा तत्काल बढुवा प्रक्रिया अगाडि नबढाउने निश्कर्षमा गृहको नेतृत्व पुगेको छ ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयकाे जानकारी र सहमतिबिनै  सरकारले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थपेपछि बिवाद श्रृजना भएकाे  छ । प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका बेला गृह मन्त्रालयले १४ वटा दरबन्दी कटौती गरेको थियो ।

मन्त्रिपरिषदको यो निर्णय सार्वजनिक भएसगै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि यस विषयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग असन्तुष्टि व्यक्त गरेका छन् ।तर, गृहमन्त्री थापा स्वयंलाई यो निर्णयबारे पूर्वजानकारी थिएन।  गृहले पेस गरेका प्रस्तावमा पाँचवटा प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप्नुपर्ने थियो ।

मन्त्रिपरिषदले गृहको प्रस्तावलाई अध्ययनका लागि भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको प्रशासनिक समितिमा पठाएको थियो ।  उपप्रधानमन्त्री पोखरेलले नै एउटा दरबन्दी थपेर मन्त्रिपरिषदमा प्रस्ताव लगेको स्रोतको भनाइ छ ।

यसको पृष्ठभूमिमा हाल महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा रहेका प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई बढुवा गर्ने तयारी रहेको प्रहरी प्रधान कार्यालय बुझाइ छ । हाल पोखरेल एआईजीमा बढुवा भए उनी १९ वैशाख २०७९ पछि प्रहरी महानिरीक्षकका एक्ला दाबेदार हुनेछन् ।डीआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा निधन भएपछि उनलाई तत्कालीन रक्षामन्त्री पोखरेलकै दबाबमा १९ वैशाख २०७६ मा एसएसपीबाट डीआईजीमा बढुवा गरिएको थियो ।आफ्नो जानकारीविनै दरबन्दी थपिएपछि प्रहरी प्रधान कार्यालयले एआईजी बढुवा प्रक्रिया नथाल्ने  भएकाे हाे ।पाँचवटा डीआईजीको दरबन्दी थपिएपछि अब ८ पदमा बढुवा हुन आकांक्षी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको दौडधुप सुरु भएको छ । हालका महानिरीक्षक क्षेत्रीका ब्याची हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्कीको एआईजीमा बढुवा भएपछि तीन डीआईजीको दरबन्दी खाली थियो ।

रिक्त दरबन्दीमा बढुवाका लागि आईजीपी क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल, राजेशलाल कर्ण ,दिवेश लोहनी, देवबहादुर बोहरा,  रामकृपाल शाह दिलीप चौधरी, सौरभ राणा र प्रतिष्पर्धामा छन् । उमेश रञ्जित ,पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ , सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पनि प्रतिष्पर्धी हुन् ।

Loading spinner