
गर्भको शिशुसहित महिलाको मृत्यु भएपछि अस्पतालमा तनाब
काठमाण्डाै । लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी बेथा लागेर भर्ना भएकी एक महिलाको अस्पतालमा मृत्यु भएको छ।गुल्मी मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरी सुत्केरी बेथा लागेर भर्ना भएकी बिहीबार साँझ गर्भको शिशुसहित मृत्यु भएको हो।
उनी सुत्केरी बेथा लागेर बिहीबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन्। मृतक गीताका देवर युद्ध पुरीले अस्पतालको लापरबाहीले भाउजू र बच्चा दुवैको ज्यान गएको बताए।
मृतकका आफन्तले भने अस्पताल भर्ना भएपछि आमा र बच्चा दुवैको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरबाही भएको आरोप लगाएका छन्। मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गरेका छन्।
अहिले मृतकको शव अस्पतालभित्रै छ। मृतकका आफन्तले शुक्रबार बिहान अस्पतालमा केहीबेर प्रदर्शन समेत गरेका थिए।
अहिले अस्पताल प्रशासन र मृतकका आफन्तबीच अस्पतालमा छलफल चलिरहेको छ।