गठबन्धनको जादु नचल्ने संकेत

khabarwave
५ मंसिर २०७९

काठमाडौं । चुनावअघि सत्ता गठबन्धनमा आवद्ध घटक दलका नेताहरूको एउटै भनाइ हुन्थ्यो–भावी सरकारको नेतृत्व फेरि गठबन्धनले गर्नेछ। गठबन्धनका पाँचवटा दल मिलेर चुनावमा जाँदा एकमुष्ट मत पाउने र अधिकांश स्थानमा निर्वाचित हुने आकलन गठबन्धनका नेताहरूको थियो। तर, आइतबार सम्पन्न मतदानको प्रारम्भिक रूझानलाई हेर्ने हो भने गठबन्धनका नेताहरूको त्यो आकलन गलत साबित हुने देखिन्छ। मतगणना कार्य प्रारम्भिक चरणमै रहेकोले अनुमान लगाउन अलि चाँडो हुन्छ। तर, प्रारम्भिक रूझानअनुसार सत्ता गठबन्धनभन्दा विपक्षी गठबन्धनले अग्रता लिएको देखिन्छ। मतगणनाको पछिल्लो नतिजाअनुसार एमाले ६ सिटमा अग्रता लिँदा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस अहिलेसम्म २ स्थानमा अगाडि छ। यस्तै पहिलोपटक चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि २ स्थानमा अग्रता लिइरहेको छ। मतगणनाको प्रारम्भिक नतिजालाई हेर्ने हो भने ललितपुरको तीनवटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनलाई एमालेले चुनौती दिइरहेको देखिन्छ। ललितपुर–३ बाट यसअघि दुईपटक निर्वाचित भइसकेकी पम्फा भुसाल गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी थिइन्। सरकारको ऊर्जामन्त्रीसमेत रहेकी भुसाल तेस्रो स्थानमा देखिएकी छन्। त्यो क्षेत्रमा एमालेका अमृत खड्काले अग्रता लिएका छन्। चुनावअघि उम्मेदवारीका कारण चर्चामा आएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले उनलाई पछ्याइरहेका छन्। भुसाल भने तेस्रो स्थानमा छिन्। यता काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन्।
उनले १७७ मतसहित अग्रता लिएका हुन्। त्यस्तै स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे तेस्रो र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराई चौथौं स्थानमा छन्। एमालेका घिमिरेले ९३ पाउँदा माओवादी केन्द्रकी भट्टराईले ७५ मत पाएकी छन्। हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेल ५२ र राप्रपाका धु्रवविक्रम मल्लले ५० मत पाएका छन्। अहिले आइरहेको मतगणनाको रूझानलाई र मतदानको ‘ट्रेन्ड’ लाई हेर्ने हो भने मतदाताले गठबन्धन वा परम्परागत दलभन्दा रानीतिमा नयाँ अनुहारको प्रवेशलाई हेर्न चाहेका छन्। राजनीतिक विश्लेषक रोशन जनकपुरी मतगणनाको प्रारम्भिक नतिजाले पुराना दलहरूप्रति मतदाताको ‘फ्रस्टेसन’ देखिएको बताउँछन्। ‘हुनत अहिले नै केही भन्न हतार हुन्छ, भर्खर मतगणना सुरू भएको छ। मतगणना प्रारम्भिक चरणमै छ,’ उनी भन्छन्,‘तर, सुरूवाती नतिजाहरूलाई हेर्ने हो भने मतदाता फ्रस्टेट देखिएका छन्।’ देशभरमा ६२ प्रतिशतमात्रै भएको मतदानले पनि जनप्रतिनिधि चयनप्रति मतदाता खासै उत्साहित नरहेको प्रष्ट भएको उनको भनाइ छ।

Loading spinner